काठमाडौं। देशको पूर्वी भेगमा हुरीसहित भारी वर्षा गराउने प्रणाली सक्रिय बन्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा हुरीबतास र चट्याङसहित मध्यम पानी परिरहेकोमा उक्त मनसुनी प्रणाली पूर्वतिर सर्दै गएको विभागले उल्लेख गरेको छ।
विभागका मौसमविद् सञ्जिव अधिकारीले पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गइरहेकाले उपत्यकासहित बागमती प्रदेश र मधेस प्रदेशका अधिकांश स्थानमा वर्षा हुन थालेको जानकारी दिएका छन्।
सुदूरपश्चिमबाट सुरु भएको वर्षा प्रणाली लुम्बिनी हुँदै बागमती र मधेस प्रदेशसम्म फैलिसकेको छ।
हुरीबतासको गति करिब ४० किलोमिटर प्रतिघण्टासम्म पुग्ने र केही स्थानमा करिब दुई घण्टासम्म यसको प्रभाव रहने विभागको भनाइ छ।
साताभर नै वर्षा गराउने प्रणाली सक्रिय रहने विभागले जनाएको छ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ।
साथै, नेपालको दक्षिणी भू–भाग हुँदै पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाले मौसममा प्रभाव पारिरहेको विभागले उल्लेख गरेको छ।
विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहेको छ भने कोशी र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र र हिमाली भू–भागमा सामान्य बदली रहेको छ।
देशका पहाडी र तराई क्षेत्रका केही स्थानमा आंशिक बदली देखिएको छ। सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आजको पूर्वानुमान
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका साथै हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
राति देशभर सामान्य बदली रहनेछ। पहाडी र हिमाली भू–भागका केही तथा तराईका थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।
मंगलबारको पूर्वानुमान
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने अन्य प्रदेशका थोरै स्थानमा वर्षा हुन सक्छ।
राति यी प्रदेशमा बदली रहने र केही स्थानमा मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ।
बुधबारको पूर्वानुमान
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बदली रहनेछ।
ती क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ भने तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने जनाइएको छ।
विभागले हुरीबतास, चट्याङ र सम्भावित भारी वर्षाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार













प्रतिक्रिया