काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमा फसेका व्यापारिक जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सुरु गरिएको ‘प्रोजेक्ट फ्रिडम’ सैन्य अभियान केही समयका लागि स्थगित गर्ने घोषणा गरेका छन्।
इरानसँग सम्झौताको दिशामा “ठूलो प्रगति” भएको दाबी गर्दै ट्रम्पले आपसी सहमतिमा अभियान रोकिएको बताएका छन्। तर, इरानी सञ्चारमाध्यमहरूले भने यसलाई आफ्नो देशको जितका रूपमा व्याख्या गर्दै अमेरिकाको रणनीति असफल भएपछि ट्रम्प पछि हट्न बाध्य भएको टिप्पणी गरेका छन्।
ट्रम्पका अनुसार यो निर्णय इरान र अमेरिकाबीच मध्यस्थता गरिरहेको छिमेकी देश पाकिस्तानको अनुरोधमा लिइएको हो। अभियान रोकिए पनि इरानी बन्दरगाहहरूमा जारी अमेरिकी नाकाबन्दी भने यथावत् रहने उनले स्पष्ट पारेका छन्। यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘अपरेशन एपिक फ्युरी’ नामक पहिलो चरणको सैन्य कारबाही आफ्नो उद्देश्य पूरा गरेर समाप्त भएको बताएका थिए।
ट्रम्पको यो निर्णयले अमेरिकी प्रशासनभित्रै केही अन्योल सिर्जना गरेको देखिन्छ। किनकि केही घण्टाअघि मात्रै विदेशमन्त्री रुबियो, रक्षामन्त्री पिट हेगसेथ र जोइन्ट चिफका अध्यक्ष जनरल ड्यान केनले उक्त क्षेत्रमा स्वतन्त्र जलयात्रा र व्यापार सुनिश्चित गर्न अभियान जारी रहने बताएका थिए। पछि भने रुबियोले अमेरिका शान्ति र कूटनीतिक समाधानको पक्षमा रहेको धारणा व्यक्त गरेका छन्।
अमेरिकाले नाकाबन्दी र उद्धार अभियानलाई फरक–फरक रणनीतिका रूपमा अघि बढाउँदै आएको थियो। नाकाबन्दीको उद्देश्य इरानमाथि आर्थिक दबाब बढाउनु हो भने ‘प्रोजेक्ट फ्रिडम’ को उद्देश्य अवरुद्ध जलमार्गबाट फसेका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकालेर विश्व बजारमा तेल आपूर्ति सहज बनाउनु थियो।
अब यो स्थगन अवधिमा इरानले पुनः अवरोध सिर्जना गरेमा अमेरिकालाई आफ्नो उद्देश्य पूरा भएको दाबी गर्न कठिन हुन सक्छ। अर्कोतर्फ, इरानले विरोध गर्दै आएको अभियान रोकेर अमेरिकाले उसलाई वार्ताको टेबलमा ल्याउने रणनीति अपनाएको अनुमान पनि गरिएको छ।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार













प्रतिक्रिया