काठमाडौं। लगातारको वर्षा र हावाहुरी का कारण काठमाडौं उपत्यकाको वायु गुणस्तरमा उल्लेखनीय सुधार आएको छ।
वायु गुणस्तर सूचकांक (एक्युआई) अनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको सूचकांक ४७ मा झरेको छ, जसलाई ‘स्वच्छ’ वा स्वस्थ वायुको श्रेणीमा राखिन्छ।
केही समयअघि विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको काठमाडौं अहिले सुधार हुँदै ६६औँ स्थानमा पुगेको छ।
वायु गुणस्तर सूचकांक ० देखि ५० सम्मलाई राम्रो, ५१ देखि १०० सम्म मध्यम, १०१ देखि १५० अस्वस्थ, १५१ देखि २०० सबैका लागि अस्वस्थ, २०१ देखि ३०० धेरै अस्वस्थ र ३०० भन्दा माथि अत्यन्त खतरनाक मानिन्छ।
गत वैशाख १० गते उपत्यकाको वायु गुणस्तर सूचकांक २४७ पुगेको थियो, जुन धेरै अस्वस्थ श्रेणीमा पर्छ।
त्यसबेला विज्ञहरूले श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढ्न सक्ने चेतावनी दिएका थिए।
वातावरण विभागका अनुसार लामो समय वर्षा नहुँदा धुलो, धुवाँ र डढेलोबाट उत्पन्न प्रदूषण वायुमण्डलमा जम्मा हुने गर्दछ।
वन डढेलो र छिमेकी मुलुकबाट आउने प्रदूषित हावाले पनि उपत्यकाको वायु गुणस्तरमा असर पार्ने गरेको बताइएको छ।
वर्षासँगै धुलो र धुवाँ पखालिने तथा हावाको बहाव बढ्ने भएकाले वायु गुणस्तरमा सुधार देखिएको विज्ञहरूको भनाइ छ।
यद्यपि दीर्घकालीन रूपमा प्रदूषण नियन्त्रणका लागि दिगो र वातावरणमैत्री उपाय आवश्यक रहेको उनीहरूले औँल्याएका छन्।
हालको सुधारले उपत्यकावासीलाई केही राहत दिएको भए पनि प्रदूषण नियन्त्रणलाई स्थायी रूपमा समाधान गर्न थप पहल आवश्यक रहेको विज्ञहरूको जोड छ।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार













प्रतिक्रिया