सुर्खेत। वीरेन्द्रनगरमा अत्यधिक विषादी प्रयोग गरिएका तरकारी फेला परेपछि नगरपालिकाले बजार अनुगमन र परीक्षणमा कडाइ गरेको छ।

दैनिक उपभोगका लागि आउने तरकारीमा उच्च मात्रामा रासायनिक विषादी भेटिन थालेपछि यसले जनस्वास्थ्यमा गम्भीर असर पार्ने चिन्ता बढेको छ।

advertisement

नगरपालिकाका अनुसार वीरेन्द्रनगर हुँदै कर्णाली प्रदेशका विभिन्न जिल्लामा तरकारी आपूर्ति हुने भएकाले यहाँ भित्रिने विषादीयुक्त तरकारीले व्यापक रूपमा असर पार्न सक्ने जोखिम देखिएको छ।

परीक्षणका क्रममा गुराँस गाउँपालिकाबाट ल्याइएको काउलीमा ९५ प्रतिशतसम्म अर्गानोफस्फेट विषादी भेटिएको छ, जुन अत्यन्त खतरनाक मानिन्छ।

कृषि प्रयोगशालाका प्राविधिक धनसिंह धामीका अनुसार यस्तो उच्च मात्राको विषादी भएको तरकारी छुनु मात्रै पनि स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ।

उनका अनुसार “९५ प्रतिशत विषादी देखिनु भनेको प्रत्यक्ष रूपमा विष सेवन गर्नुजस्तै हो।”

यसैगरी बर्दियाबाट आएको टमाटरमा ५४ प्रतिशत र सुर्खेतमै उत्पादन भएको काउलीमा ४६ प्रतिशत विषादी भेटिएको छ।

४५ प्रतिशतभन्दा बढी विषादी भएको तरकारीलाई उपभोग अयोग्य मानिने भएकाले त्यस्ता तरकारी नष्ट गर्ने गरिएको छ।

विशेषगरी अर्गानोफस्फेट समूहका विषादीले मानिसको स्नायु प्रणाली, प्रजनन क्षमता तथा मिर्गौलामा गम्भीर असर पार्ने चिकित्सकहरू बताउँछन्।

दीर्घकालीन रूपमा यसले क्यान्सरसम्म निम्त्याउन सक्ने चेतावनी दिइएको छ।

नगरपालिकाले विषादी पुष्टि भएका तरकारी बरामद गरी नष्ट गर्ने कामलाई तीव्रता दिएको छ।

पछिल्लो एक हप्तामा परीक्षण गरिएका ५० भन्दा बढी नमुनामध्ये अधिकांशमा मापदण्डभन्दा बढी विषादी भेटिएको जनाइएको छ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com