काठमाडौं। अन्तर्राष्ट्रिय आपराधिक प्रहरी संगठन इन्टरपोलले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध ‘रेड नोटिस’ जारी गर्न नसकिने जनाएको छ।
नेपाल प्रहरीमार्फत पठाइएको अनुरोधलाई आवश्यक कानुनी आधार र प्रमाण अपुग रहेको भन्दै इन्टरपोलले फिर्ता पठाएको हो।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार रेड नोटिस जारी गर्नुअघि आरोपितमाथि लागेको मुख्य कसुर, अनुसन्धानको अवस्था र त्यसको ठोस प्रमाण स्पष्ट हुनुपर्नेमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार पर्याप्त विवरण पेश नभएको जनाइएको छ।
इन्टरपोलले नेपाल सरकारसँग मुख्य अपराध के हो, अनुसन्धान कुन–कुन क्षेत्रमा भइरहेको छ र हालसम्मको प्रगति के छ भन्नेबारे स्पष्ट जवाफ मागेको छ।
विशेषगरी, मूल अपराध पुष्टि नगरी केवल सम्पत्ति शुद्धीकरणको आधारमा मात्रै रेड नोटिस जारी गर्ने प्रक्रिया उपयुक्त नहुने निष्कर्ष इन्टरपोलले निकालेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा जिल्ला अदालत काठमाडौंले गत चैत २४ गते शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
सोही आधारमा उनीहरूलाई पक्राउ गरी नेपाल ल्याउन अन्तर्राष्ट्रिय सहयोग मागिएको थियो।
‘जेन–जी’ आन्दोलनका क्रममा निजी निवासमा आक्रमण भएपछि उनीहरू उपचारका लागि सिङ्गापुर गएका थिए र त्यसयता स्वदेश फर्किएका छैनन्।
हाल उनीहरू हङकङमा रहेको अनुमान गरिए पनि आधिकारिक पुष्टि भने भएको छैन।
रेड नोटिस जारी नभएपछि उनीहरूलाई अन्तर्राष्ट्रिय रूपमा पक्राउ गरी स्वदेश ल्याउने प्रक्रिया तत्कालका लागि अवरुद्ध भएको छ।
अब सम्बन्धित निकायले इन्टरपोलले उठाएका प्रश्नहरूको स्पष्ट जवाफ र थप प्रमाण पेश गर्नुपर्ने देखिएको छ।
यस घटनाले नेपाली राजनीतिक र कानुनी वृत्तमा नयाँ बहस सिर्जना गरेको छ भने सरकार र देउवा परिवार दुवै पक्षबाट अहिलेसम्म औपचारिक प्रतिक्रिया आएको छैन।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार













प्रतिक्रिया