काठमाडौ। अन्तर्राष्ट्रिय मानवीय स्वास्थ्य संस्था मेडिसिन्स सान्स फ्रन्टियर्स (एमएसएफ) ले इजरायलमाथि गाजामा खाद्य तथा अत्यावश्यक सहायता रोकेर जानाजान कुपोषण सङ्कट निम्त्याएको आरोप लगाएको छ।
एमएसएफले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गाजामा विशेषगरी शिशु, गर्भवती महिला र स्तनपान गराइरहेका आमाहरू गम्भीर कुपोषणको चपेटामा परेका छन्।
सहायता आपूर्ति अवरुद्ध हुनु, चिकित्सा सेवामा पहुँच सीमित हुनु र निरन्तर असुरक्षाका कारण अवस्था झन् जटिल बनेको प्रतिवेदनमा उल्लेख छ।
एमएसएफले गाजाका विभिन्न स्वास्थ्य संस्थामा सन् २०२४ को अन्त्यदेखि २०२६ को सुरुवातसम्म सङ्कलन गरिएको तथ्याङ्कका आधारमा प्रतिवेदन तयार गरेको जनाएको छ।
प्रतिवेदनअनुसार कुपोषित आमाबाट जन्मिएका शिशुहरूमा समयअघि जन्मिने, कम तौल हुने र मृत्यु दर उच्च हुने समस्या देखिएको छ।
सङ्कलित तथ्याङ्कअनुसार आधाभन्दा बढी महिलाहरू गर्भावस्थाको कुनै न कुनै चरणमा कुपोषणबाट प्रभावित भएका थिए।
तीमध्ये करिब एक चौथाइ महिला अझै पनि कुपोषित अवस्थामा रहेको उल्लेख गरिएको छ।
एमएसएफका अनुसार कुपोषित आमाबाट जन्मिएका करिब ९० प्रतिशत शिशु समयअघि जन्मिएका थिए भने ८४ प्रतिशत शिशुको जन्मतौल न्यून थियो।
यस्ता शिशुहरूको मृत्युदर सामान्य अवस्थाका आमाबाट जन्मिएका शिशुभन्दा दोब्बर बढी रहेको प्रतिवेदनमा उल्लेख छ।
संस्थाले गाजामा सहायता वितरणमा अवरोध, खाद्यान्न अभाव, विस्थापन र स्वास्थ्य पूर्वाधारमाथि भएका आक्रमणले मातृ तथा शिशु स्वास्थ्यमा विनाशकारी असर परेको जनाएको छ।
एमएसएफले इजरायली अधिकारीहरूलाई गाजामा मानवीय सहायता र स्वास्थ्य सामग्रीको निर्बाध प्रवेश तत्काल सुनिश्चित गर्न आग्रह गरेको छ।
यद्यपि, इजरायलले यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया