काठमाडौं। विश्वभरका सहरमा बढ्दो तापक्रम नियन्त्रण गर्न रूखहरूले महत्त्वपूर्ण भूमिका खेले पनि त्यसको प्रभाव सबै क्षेत्रमा समान नरहेको नयाँ अध्ययनले देखाएको छ ।
‘नेचर कम्युनिकेसन्स’मा प्रकाशित अध्ययनअनुसार विश्वका करिब ९ हजार ठूला सहरको विश्लेषण गर्दा रूखहरूले औसतमा सहरी तापक्रम शून्य दशमलव १५ डिग्री सेल्सियसले घटाउने पाइएको छ ।
यो सहरी ताप द्वीप प्रभावको करिब आधा हो । सहरी ताप द्वीप प्रभाव भन्नाले सडक, भवन र कङ्क्रिट संरचनाले ताप सोस्दा सहर वरपरका ग्रामीण क्षेत्रभन्दा बढी तातो हुने अवस्थालाई जनाइन्छ ।
अध्ययनले हरियाली धेरै भएका सहरमा तापक्रम उल्लेखनीय रूपमा घट्ने देखाएको छ भने रूख कम भएका क्षेत्रमा यसको प्रभाव अत्यन्त न्यून रहेको जनाएको छ ।
विशेषगरी विकासोन्मुख मुलुकका सहरहरूमा रूखको घनत्व कम भएकाले ताप नियन्त्रणको क्षमता कमजोर रहेको अध्ययनका प्रमुख वैज्ञानिक रोब म्याकडोनाल्डले बताएका छन् ।
सेनेगलको डकार, साउदी अरबको जेद्दाह, कुवेत सिटी र जोर्डनको अम्मानजस्ता सहरमा लाखौँ मानिस बसोबास गरे पनि रूखको कमीका कारण प्राकृतिक शीतलताको लाभ न्यून रहेको अध्ययनले देखाएको छ ।
केही सहरमा रूखबाट हुने तापक्रम घटाउने प्रभाव शून्य दशमलव शून्य ५ डिग्री सेल्सियसभन्दा पनि कम रहेको उल्लेख गरिएको छ ।
यसको विपरीत जर्मनीको बर्लिन, अमेरिकाको एटलान्टा, सियाटल तथा अस्ट्रेलियाको सिड्नीजस्ता सहरमा हरियाली धेरै भएकाले तापक्रम नियन्त्रणमा उल्लेखनीय सहयोग पुगेको अध्ययनले जनाएको छ ।
एटलान्टाको करिब ६४ प्रतिशत भूभाग रूखले ढाकिएको तथ्य पनि अध्ययनमा उल्लेख छ ।
वैज्ञानिकहरूका अनुसार रूखले छाया प्रदान गर्ने र पातबाट पानी वाष्पीकरण गर्ने भएकाले तापक्रम घटाउन सहयोग पुग्छ ।
अध्ययनमा मौसम केन्द्र, उपग्रहबाट प्राप्त विवरण र कम्प्युटर मोडेलको प्रयोग गरी सहरअनुसार तापक्रमको सूक्ष्म विश्लेषण गरिएको थियो ।
अनुसन्धानकर्ताहरूले रूख रोपाइँलाई महत्त्वपूर्ण उपाय माने पनि केवल रूख रोपेर मात्र जलवायु परिवर्तनको असर नियन्त्रण गर्न नसकिने बताएका छन् ।
उनीहरूका अनुसार भविष्यमा सहरी तापक्रम वृद्धि कम गर्न रूखले अधिकतम २० प्रतिशतसम्म मात्र योगदान दिन सक्छ ।
पर्यावरणविद्हरूले दीर्घकालीन समाधानका लागि जीवाश्म इन्धनको प्रयोग घटाएर नवीकरणीय ऊर्जातर्फ जान आवश्यक रहेको बताएका छन् ।
प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार












प्रतिक्रिया