काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन गरिँदै आएको कैलाश मानसरोवर यात्राबारे भारतले आफ्नो पूर्ववत् अडान पुनः दोहोर्‍याएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले साप्ताहिक मिडिया ब्रिफिङमा उक्त यात्रा नयाँ विषय नभएको स्पष्ट पारे । उनका अनुसार कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि निरन्तर सञ्चालन हुँदै आएको छ ।

advertisement

यसअघि भारत र चीनले लिपुलेक पास हुँदै यात्रा सञ्चालन गर्न लागेको विषयमा नेपालले आपत्ति जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो । त्यसपछि भारतले आफ्नो धारणा सार्वजनिक गर्दै यो विषय पुरानै अभ्यासको निरन्तरता भएको जनाएको हो । साथै, भारतले नेपालसँग यसबारे संवाद गर्न तयार रहेको पनि उल्लेख गरेको छ ।

सन् २०१५ मा भारत र चीनबीच लिपुलेक नाका प्रयोग गरी व्यापार तथा तीर्थयात्रा सञ्चालन गर्ने सहमति भएको थियो । त्यसबेला नेपालले विरोधस्वरूप कूटनीतिक नोट पठाए पनि दुवै देशबाट औपचारिक प्रतिक्रिया आएको थिएन । यसपटक पनि चीनले नेपालले उठाएको विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन ।

ऐतिहासिक रूपमा सन् १८१६ मा नेपाल र ब्रिटिस भारतबीच भएको सुगौली सन्धिअनुसार काली (महाकाली) नदीको पूर्वतर्फको भूभाग नेपालको मानिन्छ । सो सन्धिअनुसार लिम्पियाधुरा क्षेत्र महाकाली नदीको मुहान मानिने भएकाले उक्त भूभाग नेपालको सीमाभित्र पर्ने दाबी नेपालले गर्दै आएको छ ।

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com