काठमाडौं । भारतले नेपालसँगको सम्बन्धलाई ‘बहुआयामिक’ रूपमा व्याख्या गर्दै पेट्रोलियम पदार्थ र रासायनिक मलको आपूर्ति निरन्तर रहने प्रतिबद्धता पुनः व्यक्त गरेको छ ।
बिहीबार आयोजित साप्ताहिक मिडिया ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपाल–भारतबीचको व्यापारिक तथा रणनीतिक सहकार्य सुदृढ रहेको उल्लेख गरे ।
नेपालमा अत्यावश्यक वस्तुको आपूर्तिबारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले दुवै देशबीच आयात–निर्यात प्रक्रिया अविरल रूपमा जारी रहेको जानकारी दिए । पेट्रोलियम पदार्थ आपूर्तिका सन्दर्भमा विद्यमान द्विपक्षीय सम्झौताअनुसार नै इन्धन उपलब्ध गराइँदै आएको र आगामी दिनमा पनि सोही व्यवस्था कायम रहने उनले स्पष्ट पारे ।
रासायनिक मलजस्तो संवेदनशील विषयमा पनि भारतले सकारात्मक धारणा व्यक्त गरेको छ । प्रवक्ता जैसवालले नेपाललाई आवश्यक पर्ने मल आपूर्ति सुनिश्चित गरिने बताए ।
हाल नेपालले भारतसँग रासायनिक मल खरिदका लागि सरकार–सरकार (जीटुजी) समझदारीमार्फत प्रक्रिया अघि बढाएको छ । त्यस्तै, पेट्रोलियम पदार्थ आपूर्तिका लागि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच दीर्घकालीन व्यावसायिक सहकार्य रहँदै आएको छ ।
प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया