काठमाडाैं । पर्साको शैक्षिक क्षेत्रमा आइतबार दिइने बिदा कटौतीको माग गर्दै अभिभावक संघ पर्साले जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन शाखामार्फत ज्ञापनपत्र बुझाएको छ।

संघले लगातार दुई दिन बिदा हुँदा विद्यार्थीहरूको पढाइमा प्रत्यक्ष असर परिरहेको र पाठ्यक्रम समयमै पूरा गर्न कठिनाइ भइरहेको जनाएको छ।
ज्ञापनपत्रमा उल्लेख भएअनुसार, अतिरिक्त बिदाका कारण शैक्षिक अनुशासन कमजोर बन्दै गएको छ।

advertisement

साथै, धेरै बालबालिका आइतबार बिदाका कारण मोबाइल, टिभी तथा सामाजिक सञ्जालमा बढी समय बिताउन थालेका छन्, जसले अध्ययनप्रतिको रुचि घटाउँदै लगेको अभिभावकहरूको गुनासो रहेको छ।

संघले शिक्षा नियमावलीअनुसार विद्यालय न्यूनतम २२० दिन सञ्चालन हुनुपर्ने व्यवस्थालाई उद्धृत गर्दै अतिरिक्त बिदाले शैक्षिक गुणस्तरमा असर परेको दाबी गरेको छ।

ज्ञापनपत्र बुझाउने क्रममा संघका अध्यक्ष सन्दिप रनियारको नेतृत्वमा कोषाध्यक्ष कन्हैया पटेल, अरविन्द वर्णमाला, रविन्द्र गुप्ता, नरेन्द्र तिवारी, सुबोध यादव, हरेन्द्र तिवारी, धिरेन्द्र तिवारी लगायतको सहभागिता रहेको थियो।

अभिभावक संघले शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउन, विद्यार्थीहरूको नियमित पठनपाठन सुनिश्चित गर्न तथा उनीहरूलाई भविष्यप्रति जिम्मेवार बनाउन आइतबारको बिदा पुनर्विचार गरी कटौती गर्न सरकारसँग माग गरेको जनाएको छ।

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com