काठमाडौ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आफूले पाउने पारिश्रमिक तथा सेवा–सुविधाको रकम सामाजिक कार्यमा खर्च गर्ने आफ्नो प्रतिबद्धता निरन्तरता दिएका छन्।

शुक्रबार उनले धनगढीका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका हुन्।

advertisement

मेयरमा निर्वाचित भएदेखि नै सरकारी सुविधा नलिने घोषणा गरेका हमालले हालसम्म प्राप्त सम्पूर्ण रकम शिक्षा, गौ–सेवा र असहाय व्यक्तिहरूको सहयोगमा खर्च गर्दै आएका छन्।

आर्थिक वर्ष २०७८–०७९ मा प्राप्त १ लाख ३७ हजार २ सय ७३ रुपैयाँमध्ये सम्पूर्ण रकम सामाजिक कार्यमा खर्च गरिएको थियो। उक्त रकममध्ये गौ संरक्षण सेवा समितिलाई ५५ हजार ६ सय ८७ रुपैयाँ र दक्षिणकाली आधारभूत बहिरा आवासीय विद्यालयलाई ८१ हजार ५ सय ८६ रुपैयाँ सहयोग गरिएको थियो।

त्यसैगरी आर्थिक वर्ष २०७९–०८० मा प्राप्त ९ लाख ३६ हजार ४ सय रुपैयाँमध्ये २ लाख ६७ हजार ८ सय रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरिएको थियो। यसबाट दृष्टि फाउन्डेसन, मानव सेवा आश्रम, आमाको माया छात्रावास, खगेन्द्र नवजीवन केन्द्र र दक्षिणकाली विद्यालयका गरी २६९ जना आश्रित लाभान्वित भएका थिए।

आर्थिक वर्ष २०८०–०८१ मा कक्षा ८ को वार्षिक परीक्षामा शून्य नतिजा आएका १७ वटा सामुदायिक विद्यालयका ३ हजार ४ सय ८९ जना विद्यार्थीलाई कापी, पेन्सिल, कटर र इरेजर जस्ता शैक्षिक सामग्री वितरण गरिएको थियो। यसमा ९ लाख ९२ हजार ६ सय ५ रुपैयाँ खर्च भएको थियो।

चालु आर्थिक वर्ष २०८१–०८२ मा पनि धनगढीका ४७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ७ हजार ४ सय ७५ जना विद्यार्थीलाई करिब १० लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको छ।

नगर प्रमुख हमालले आगामी आर्थिक वर्ष २०८२–०८३ मा पनि प्राप्त हुने सेवा–सुविधाको रकम सामाजिक काममै खर्च गर्ने तयारी रहेको बताएका छन्। साथै, उनले व्यक्तिगत तर्फबाट थप ५ लाख रुपैयाँ सहयोग गरी करिब ४४ लाख रुपैयाँ सामाजिक विकासका क्षेत्रमा खर्च गर्ने योजना रहेको जानकारी दिएका छन्।

उनको मुख्य प्राथमिकता सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरूको शिक्षामा पहुँच विस्तार गर्नु रहेको छ।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com