काठमाडौँ । सामाजिक अभियन्ता डा. जगत विकले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का धेरै निर्णयप्रति आफूले सद्भाव, समर्थन र सकारात्मक दृष्टिकोण राख्दै आएको भए पनि पछिल्लो विवादित विषयमा भने स्पष्ट रूपमा फरक मत रहेको बताएका छन्।

डा. जगतले लोकतान्त्रिक शासन व्यवस्थामा राज्यसंयन्त्र विधिसम्मत प्रक्रिया, संवैधानिक मर्यादा र संस्थागत सन्तुलनका आधारमा सञ्चालन हुनुपर्ने उल्लेख गर्दै कार्यकारी शक्तिले स्वतन्त्र न्यायपालिकामाथि प्रभाव जमाउने संकेत देखिनु गम्भीर चिन्ताको विषय भएको बताएका हुन्।

advertisement

उनले सर्वोच्च अदालतजस्तो स्वतन्त्र, निष्पक्ष र संवैधानिक संस्थालाई कार्यपालिकाको प्रभावमा चल्ने संरचनाका रूपमा प्रस्तुत गर्ने प्रयास राज्यको शक्ति सन्तुलनमाथिको गम्भीर प्रहार भएको टिप्पणी गरेका छन्। ‘यो केवल एउटा निर्णयको विषय होइन, राज्यको शक्ति सन्तुलनमाथिको गम्भीर प्रहार हो,’ उनले भनेका छन्।

डा. जगतका अनुसार नेपालको संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच नियन्त्रण तथा सन्तुलनको सिद्धान्त स्थापित गरेको छ। तर कार्यपालिका आफैंलाई सबैभन्दा माथि ठान्न थाले लोकतन्त्र कमजोर बन्दै जाने र संस्थाहरू व्यक्तिको इच्छाको बन्दी बन्ने खतरा बढ्ने उनले उल्लेख गरेका छन्।

उनले संस्थाभन्दा व्यक्तिलाई बलियो बनाउने मानसिकतालाई राणाशासनपछिको सबैभन्दा खतरनाक प्रवृत्तिको संज्ञा दिएका छन्। ‘व्यक्ति अस्थायी हुन्छ, संस्था र विधि स्थायी हुन्छन्,’ उनले बताएका छन्।

उनले आफ्नो असहमति कुनै व्यक्ति विशेषप्रति नभई विधि मिच्ने प्रवृत्तिप्रति रहेको स्पष्ट पारेका छन्। आफूलाई मनपर्ने व्यक्तिले नियम तोड्दा समर्थन गर्ने संस्कारले भविष्यमा लोकतन्त्रमाथि गम्भीर असर पार्न सक्ने चेतावनी दिँदै कानुन र प्रक्रिया सबैका लागि समान रूपमा लागू हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

आलोचनालाई शत्रुताका रूपमा नलिन आग्रह गर्दै उनले लोकतन्त्रलाई सही दिशामा राख्न जिम्मेवार नागरिक चेतना आवश्यक रहेको बताएका छन्। साथै, संसदीय शासन प्रणालीमा व्यक्तिभन्दा संस्था बलियो हुनुपर्ने आफ्नो अडानमा आफू दृढ रहेको पनि उल्लेख गरेका छन्।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com