काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइ प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। समितिका सभापति बोध नारायण श्रेष्ठका अनुसार सुनुवाइ प्रक्रियाअन्तर्गत १० दिनको समयसीमा तोकी उजुरी माग गरिएको छ।
सूचना प्रकाशन भएको मितिबाट १० दिनभित्र स्पष्ट आधार र प्रमाणसहित विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट उजुरी दर्ता गर्न सकिने उनले जानकारी दिए। प्राप्त उजुरीहरू जेठ ५ गते बस्ने बैठकमा खोलिने र विस्तृत अध्ययन गरिने जनाइएको छ।
संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र प्रस्तावित व्यक्तिलाई राष्ट्रपतिबाट प्रधान न्यायाधीश पदमा नियुक्त गरिने प्रावधान छ। यसअघि बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले न्यायाधीश मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशका रूपमा सिफारिस गरेको थियो।
प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया