काठमाडौं । सामाजिक सेवा, विपद् व्यवस्थापन, उद्धार, राहत वितरण तथा निःशुल्क शिक्षा क्षेत्रमा सक्रिय ‘१०० ग्रुप’ले वीर अस्पताल र भेरी अस्पतालमा बढ्दो बेथिति, भ्रष्टाचार तथा सेवाग्राहीमाथि भइरहेको दुःखदायी व्यवहारप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
ग्रुपले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता तथा स्वास्थ्य सचिव डा. विकास देवकोटा लाई ज्ञापनपत्र बुझाउँदै अस्पताल सुधारका लागि तत्काल कदम चाल्न माग गरेको हो।
१०० ग्रुपका उपाध्यक्ष विक्रम ओली नेतृत्वको टोलीले शुक्रबार मन्त्रालय पुगेर वीर अस्पताल र भेरी अस्पतालका समस्या, सेवाग्राहीले भोग्दै आएका सास्ती, अस्पतालभित्रको कुशासन, नर्सिङ कर्मचारीमाथिको हुकुमी प्रवृत्ति, अनियमितता तथा पारदर्शिताको अभावबारे ध्यानाकर्षण गराएको जनाएको छ।
ग्रुपले विशेषगरी भेरी अस्पतालमा दिलसरा बिकको मृत्यु अस्पताल प्रशासनको चरम लापरबाहीका कारण भएको दाबी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ। “स्वास्थ्य संस्थामा नागरिकले उपचार पाउने अधिकार सुरक्षित हुनुपर्छ, लापरबाहीका कारण ज्यान जाने अवस्था अस्वीकार्य छ,” ग्रुपले जनाएको छ।
ध्यानाकर्षणपत्रमा वीर अस्पतालभित्र देखिएका विभिन्न समस्याको समाधानका लागि अस्पताल परिसर सरसफाइ, पार्किङ व्यवस्थापन, शुद्ध खानेपानी, पर्याप्त शौचालय, टिकट तथा बिल काउन्टर थप, आकस्मिक कक्षमा शैया विस्तार, ओपीडी तथा इमर्जेन्सीमा वरिष्ठ चिकित्सकको अनिवार्य उपस्थितिजस्ता माग राखिएको छ।
त्यस्तै, आइसीयू शैया विस्तार गर्न, खाली बेड हुँदाहुँदै बिरामीलाई निजी अस्पतालमा रिफर गर्ने प्रवृत्ति रोक्न, अपरेशन तथा एमआरआई/भिडियो एक्सरेको मिति छिटो उपलब्ध गराउन, फार्मेसीमा बीमाअन्तर्गतका सबै औषधि राख्न तथा अस्पतालमा सुशासन कायम गर्न पनि ग्रुपले माग गरेको छ।
ग्रुपले अस्पताल प्रशासनमा राजनीतिक संरक्षणका आधारमा हुने गतिविधि, खरिद तथा स्टोर शाखामा विगतमा भएका अनियमितता, आफन्त भर्ती, मेडिकल माफियासँगको सेटिङ तथा कर्मचारी धम्क्याउने प्रवृत्तिमाथि समेत छानबिन गरी कारबाही गर्न आग्रह गरेको छ।
प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार













प्रतिक्रिया