काठमाडौं । नेपाली कांग्रेस को सुदूरपश्चिम प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरू सहभागी नभएको पाइएको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित भएपछि पहिलो पटक आफ्नो गृह प्रदेश पुगेका पार्टी सभापति गगन थापा लाई धनगढी विमानस्थलमा देउवा पक्षीय मानिने मुख्यमन्त्री कमलबहादुर शाह र उनका मन्त्रीहरूले भव्य स्वागत गरेका थिए ।
तर पार्टीको आन्तरिक समीकरणका कारण स्वागत र भेला पूर्ण रूपमा विवादरहित भने हुन सकेन । थापालाई स्वागत गर्न मुख्यमन्त्री विमानस्थल पुगे पनि देउवा पक्षका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर र कैलाली जिल्ला सभापति नारायणदत्त भट्ट भने विमानस्थल र भेलामा देखिएनन् ।
सभापति बलायर भेलामा सहभागी नहुने निश्चित भएको जनाइएको छ भने राष्ट्रिय सभा सदस्यसमेत रहेका जिल्ला सभापति भट्टले संसदीय कार्यव्यस्तताको कारण देखाउँदै काठमाडौंमै रहेको बताएका छन् ।
देउवा पक्षका केही अन्य जिल्ला सभापतिहरूले पनि भेलालाई बेवास्ता गर्न सक्ने सम्भावना रहेको बताइएको छ ।
प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार













प्रतिक्रिया