काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो पार्टीको पूर्ण साथ र सहयोग रहने बताएका छन्।

पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले शासन सुधार, अर्थतन्त्र सुदृढीकरण र राष्ट्रिय हितका विषयमा कांग्रेस सरकारको साथमा रहने स्पष्ट पारे।

advertisement

सभापति थापाले राष्ट्रियताका विषयमा कांग्रेसले कहिल्यै दलगत स्वार्थ नहेरेको उल्लेख गर्दै वर्तमान सरकारलाई पनि आवश्यक सहयोग गर्ने बताए। तर लोकतन्त्रका आधारभूत मान्यतामाथि हुने गलत काम भने स्वीकार्य नहुने उनको भनाइ थियो।

उनले लोकतन्त्रमा कानुनी वैधतासँगै नैतिक वैधतालाई पनि महत्त्व दिनुपर्नेमा जोड दिए। विगतको प्रसंग स्मरण गर्दै उनले कांग्रेस सरकारमा हुँदा संवैधानिक परिषद्मा अनुकूल निर्णय गराउन तत्कालीन उपसभामुखमाथि महाअभियोग प्रस्ताव ल्याउने तयारी भए पनि पार्टी त्यसको विपक्षमा उभिएको बताए।

सभापति थापाले नेता–कार्यकर्तालाई पराजित मानसिकता त्यागेर संगठन निर्माणमा सक्रिय हुन निर्देशन दिँदै गत निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गर्नेहरूलाई केही समय जिम्मेवारीबाट बाहिर राखिने बताए।

कार्यक्रममा पार्टीका उपसभापति विश्वप्रकाश शर्मा ले नयाँ ऊर्जा र सोचका साथ पार्टीलाई अघि बढाउनुपर्ने समय आएको बताए।

महामन्त्री गुरुराज घिमिरे ले पार्टीभित्र आग्रह–पूर्वाग्रह त्यागेर संगठनलाई एकीकृत र सुदृढ बनाउनुपर्ने बताए।

त्यस्तै, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाह ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न नेतृत्वलाई आग्रह गरे।

दुईदिने कार्यक्रममा प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिसँग विभिन्न विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com