हेटौंडा। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष तथा सुनसरी–१ का प्रतिनिधिसभा सदस्य हर्कराज राई ‘हर्क साम्पाङ’ले जनतालाई घरबारविहीन बनाउने (जनताको घर भत्काउने) कार्यको आफू सधैँ विरोधमा रहेको बताएका छन् ।

चितवन जाने क्रममा हेटौंडा–११ थानाभर्‍याङका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग भएको संक्षिप्त छलफलमा उनले नेपालमा रहेको सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए ।

advertisement

राज्यले जनताको घर भत्काएर विस्थापित गर्नु मानवीय तथा संवैधानिक दृष्टिले गलत भएको उल्लेख गर्दै उनले नागरिकको बाँच्न पाउने मौलिक अधिकारको संरक्षण हुनुपर्ने बताए ।

साम्पाङले आफू प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि संसद्को पहिलो बैठकमै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको मुद्दालाई प्रमुख एजेन्डाका रूपमा उठाएको स्मरण गरे ।

सरकारका गतिविधिबारे टिप्पणी गर्दै उनले जनविरोधी र नकारात्मक कामविरुद्ध निरन्तर खबरदारी गर्दै आएको दाबी गरे ।

अन्य जनप्रतिनिधि मौन बसे पनि आफू एक्लै भए पनि जनताको हकहितका लागि संघर्ष गरिरहने उनको भनाइ थियो ।

उनले संविधानले सुनिश्चित गरेको आवासको अधिकार कसैले खोस्न नसक्ने उल्लेख गर्दै सुकुम्बासी बस्तीमा घर भत्काउने कार्यलाई निरंकुश कदमको संज्ञा दिए ।

मेचीदेखि महाकालीसम्मका नागरिक एकजुट भएर यस्ता कदमविरुद्ध आवाज उठाउनुपर्ने सुझाव दिँदै उनले सडक र सदन दुवैबाट पीडितहरूको पक्षमा वकालत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जनताको दुःख नजिकबाट बुझेको उल्लेख गर्दै साम्पाङले आफू सधैँ पीडित जनताको साथमा रहने विश्वास दिलाए ।

प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com