बीबीसी। सन् २०२२ नोभेम्बरमा पहिलो पटक सार्वजनिक रूपमा देखिएपछि उत्तर कोरियाली नेता किम जङ-अन की छोरी किम जू ए विश्वव्यापी चासोको केन्द्र बनेकी छन्।
नौ वर्षको उमेरमा विशाल अन्तरमहादेशीय क्षेप्यास्त्रअगाडि सेतो ज्याकेट र कालो पहिरनमा देखिएकी जू ए अहिले १३ वर्ष पुगेकी छन्।
यसबीच उनको पहिरन, कपाल सजाउने शैली र सार्वजनिक उपस्थितिमा आएको परिवर्तनले उनी क्रमशः परिपक्व व्यक्तित्वका रूपमा प्रस्तुत भइरहेको संकेत गरेको छ।
दक्षिण कोरियाली गुप्तचर निकायहरूले जू एलाई किम जङ-अनको सम्भावित उत्तराधिकारीका रूपमा हेर्न थालेका छन्।
पछिल्ला वर्षहरूमा उनी बुवासँगै सैनिक परेड, क्षेप्यास्त्र परीक्षण, सरकारी समारोह तथा विदेश भ्रमणमा नियमित रूपमा देखिन थालेकी छन्।
विश्लेषकहरूका अनुसार जू एको पहिरन र सार्वजनिक छवि व्यक्तिगत रुचिभन्दा पनि उत्तर कोरियाको प्रचार संयन्त्रले योजनाबद्ध रूपमा निर्माण गरेको हो।
भावी नेताको छवि स्थापित गर्न उनलाई औपचारिक सुट, स्कर्ट र गम्भीर शैलीका पोसाकमा प्रस्तुत गरिन्छ।
कतिपय अवसरमा भने उनी बुवाकै शैली झल्किने कालो छालाको ज्याकेट र लामो कोटमा देखिने गर्छिन्।
यो शैली उत्तर कोरियाली शासकहरूले विगतदेखि अपनाउँदै आएको शक्ति प्रदर्शनको रणनीतिसँग जोडिएको मानिन्छ।
किम जङ-अनले पनि आफ्नो नेतृत्वको प्रारम्भिक समयमा आफ्ना हजुरबुवा किम इल-सङ को शैली पछ्याएर जनसमर्थन बटुल्ने प्रयास गरेका थिए।
किम जू एले लगाउने महँगा छालाका ज्याकेट, फर कोट र विदेशी ब्रान्डका पोसाकले उनलाई विशेष हैसियतको व्यक्तिका रूपमा प्रस्तुत गर्ने उद्देश्य राखिएको विश्लेषण गरिएको छ।
यस्ता सामग्री सामान्य उत्तर कोरियाली नागरिकको पहुँचभन्दा निकै टाढा मानिन्छन्।
रोचक पक्ष के छ भने, किम परिवारले पश्चिमा शैली र विलासी फेसन प्रयोग गरिरहँदा सर्वसाधारणका लागि भने बाह्य संस्कृतिमाथि कडा नियन्त्रण कायम गरिएको छ।
सन् २०२० यता उत्तर कोरियामा विदेशी फेसन, कपाल काट्ने शैली र सांस्कृतिक प्रभावमाथि कडा प्रतिबन्ध लगाइएको छ।
जू एले सार्वजनिक रूपमा विदेशी विलासी ब्रान्डका पहिरन प्रयोग गरे पनि आम नागरिकलाई त्यस्ता शैली अपनाउन नदिइने गरिएको बताइन्छ।
शासनले यस्ता गतिविधिलाई ‘समाजवादविरोधी व्यवहार’ भन्दै नियन्त्रण गर्ने नीति लिएको छ।
यद्यपि, किम परिवारको भव्य जीवनशैलीले उत्तर कोरियाका सम्पन्न युवामाझ प्रभाव पारिरहेको बताइन्छ।
बाह्य संस्कृतिमाथि प्रतिबन्ध हुँदाहुँदै पनि धनी वर्गमा विलासी सौन्दर्य सामग्री, अत्तर र आधुनिक पहिरनप्रति आकर्षण बढ्दै गएको छ।
केही स्थानमा बालबालिका तथा युवाहरूले किम जू एकै शैली अनुकरण गर्न थालेको विवरणसमेत सार्वजनिक भएका छन्।
बाहिरी संसारबाट धेरै हदसम्म अलग रहेको उत्तर कोरियामा अहिले किम जङ-अनकी छोरी किम जू ए नयाँ पुस्ताकी प्रभावशाली अनुहारका रूपमा उदाउँदै गएको विश्लेषण गरिएको छ।
उनको बढ्दो सार्वजनिक उपस्थितिले भविष्यमा उत्तर कोरियाको नेतृत्वमा उनको भूमिकाबारे थप चर्चा चुलिएको छ।
प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार













प्रतिक्रिया