काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदैछ। अधिवेशनको पहिलो दिन नै सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ।

संसद् सचिवालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन्। संविधानको धारा ९५ अनुसार प्रत्येक वर्षको पहिलो अधिवेशनको प्रारम्भमा राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।

advertisement

संयुक्त बैठकअघि प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक अपराह्न २ बजे बस्ने कार्यसूची तय गरिएको छ। संसद् सचिवालयले सांसदहरूलाई संयुक्त बैठकका लागि अपराह्न ३:४५ बजेसम्म उपस्थित भइसक्न आग्रह गरेको छ।

प्रतिनिधिसभाको बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाइनेछ भने मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी सूचना पनि प्रस्तुत गरिने सम्भावना छ। साथै सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन, नियमावलीसम्बन्धी प्रस्ताव तथा बाधा अड्काउ फुकाउसम्बन्धी प्रस्ताव पेस गरिनेछ।

यस अधिवेशनमा सरकारले जारी गरेका आठ वटा अध्यादेश पनि संसद्मा प्रस्तुत गरिनेछन्, जसमा सार्वजनिक खरिद, सार्वजनिक पदाधिकारीको पदमुक्ति तथा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशहरू समावेश छन्। ती अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा पेस गरिने संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com