काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानको नयाँ शान्ति प्रस्ताव अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो वृद्धि भएको छ ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत इरानी प्रतिनिधिहरूको प्रस्ताव आफूलाई स्वीकार्य नभएको बताएका हुन् । उनले “इरानको जवाफ मन परेन, यो स्वीकार गर्न सकिँदैन” भन्ने प्रतिक्रिया दिएका छन् ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इरान ले आइतबार पाकिस्तान मार्फत अमेरिका लाई नयाँ प्रस्ताव पठाएको थियो । उक्त प्रस्तावमा युद्ध अन्त्य, फारसको खाडी र हर्मुज जलडमरूमध्य क्षेत्रमा समुद्री सुरक्षा, प्रतिबन्ध हटाउने तथा परमाणु कार्यक्रमबारे वार्ता गर्ने विषय समेटिएको थियो ।
यसअघि अमेरिकाले इरानलाई १४ बुँदे प्रस्ताव पठाउँदै कम्तीमा १२ वर्षसम्म युरेनियम संवर्धन रोक्न र उच्चस्तरमा समृद्ध गरिएको युरेनियम अमेरिकालाई बुझाउनुपर्ने सर्त राखेको थियो । बदलामा अमेरिकाले केही प्रतिबन्ध खुकुलो बनाउने, रोक्का सम्पत्ति फुकुवा गर्ने र इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउने प्रस्ताव गरेको थियो ।
तर इरान आफ्नो परमाणु कार्यक्रम र उच्चस्तरीय युरेनियममाथि पूर्ण सम्झौता गर्न तयार नरहेको देखिएको छ । इरानी अधिकारीहरूले भने आफ्नो प्रस्ताव “सकारात्मक र व्यवहारिक” रहेको बताएका छन् ।
तनाव बढेसँगै अन्तर्राष्ट्रिय तेल बजारमा असर परेको छ । ब्रेन्ट क्रूड को मूल्य प्रति ब्यारेल १०४ डलर नाघेको छ भने वेस्ट टेक्सास इन्टरमिडिएट को मूल्य पनि झन्डै ९९ डलर पुगेको छ ।
विशेषज्ञहरूका अनुसार विश्वको ठूलो परिमाणको तेल ओसारपसार हुने हर्मुज जलडमरूमध्य क्षेत्रमा तनाव बढ्दा आपूर्तिमा असर पर्ने जोखिमले बजारमा चिन्ता थपिएको हो ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार













प्रतिक्रिया