काठमाडौं। नेकपा एमालेभित्र नेतृत्व हस्तान्तरण, पार्टी पुनर्गठन र आन्तरिक शक्ति सन्तुलनबारे बहस चर्किरहेका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार लामो समयसम्म गोप्य राजनीतिक छलफल भएको छ।

भक्तपुरको गुण्डुस्थित निवासमा भएको उक्त भेटवार्ता करिब दुई घण्टाभन्दा बढी चलेको बताइएको छ।

advertisement

हाल पत्थरीको शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका ओलीलाई भेट्न पुगेकी भण्डारीले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै पार्टीभित्र विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि गम्भीर संवाद गरेकी थिइन्।

ओली अस्पतालमा उपचाररत रहेका बेला पनि भण्डारीले भेट गरेकी थिइन्।

पछिल्लो भेटलाई भने एमालेभित्र बढ्दो शक्ति संघर्ष र नेतृत्व परिवर्तनको बहससँग जोडेर हेरिएको छ।

पूर्वराष्ट्रपति भण्डारीले पछिल्लो समय आफू पुनः सक्रिय राजनीतिमा फर्किने संकेत दिँदै आएकी छन्।

औपचारिक रूपमा पार्टी सदस्यता स्थगित अवस्थामा रहे पनि उनले एमालेको संगठन विस्तार र पुनर्गठनमा आफ्नो अनुभव र भूमिका उपयोग गर्न चाहेको सन्देश निरन्तर दिँदै आएकी छन्।

एमालेभित्र अध्यक्ष ओलीको विकल्प खोज्ने बहस चलिरहेका बेला केही नेताहरूले भण्डारीसँग पनि निरन्तर संवाद गरिरहेका छन्।

पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने आवाज उठिरहेका बेला भण्डारीलाई सम्भावित ‘संक्रमणकालीन नेतृत्व’ का रूपमा अघि सार्ने प्रयास समेत भइरहेको राजनीतिक वृत्तमा चर्चा छ।

भण्डारीनिकट स्रोतका अनुसार आइतबारको भेटमा एमालेभित्र पछिल्लो समय भइरहेका गुटगत भेला, नेताहरूका गतिविधि, संगठनात्मक अभियान तथा पार्टीको भावी रणनीतिबारे विस्तृत समीक्षा भएको थियो।

केही समययता चिसिएको भनिएको ओली–भण्डारी सम्बन्ध पछिल्ला दिनमा फेरि सहज बन्दै गएको बताइन्छ।

पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन र भावी नेतृत्वबारे साझा समझदारी बनाउन दुवै नेताबीच संवाद बढेको विश्लेषण गरिएको छ।

एमालेका केही नेताहरूले वर्तमान पदाधिकारीहरूमध्ये कसैले पनि ओलीको राजनीतिक उचाइ र प्रभावलाई तत्काल प्रतिस्थापन गर्न नसक्ने निष्कर्ष निकाल्दै आएका छन्।

त्यस्तो अवस्थामा पार्टीलाई अन्तरिम रूपमा भए पनि भण्डारीको नेतृत्वमा पुनर्गठन गर्नुपर्ने धारणा पार्टीभित्र एकथरी नेताहरूले सार्वजनिक र गोप्य रूपमा राखिरहेका छन्।

यद्यपि, भण्डारी स्वयंले नेतृत्वमा आउने चाहना राखे पनि त्यसका लागि ओलीको स्पष्ट समर्थन र प्रस्ताव आवश्यक पर्ने बुझाइका साथ उनी ओलीसँगको संवादलाई प्राथमिकता दिइरहेको अनुमान गरिएको छ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com