ललितपुर। जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै सोमबार ललितपुरमा विरोध प्रदर्शन भएको छ।
राष्ट्रिय जेनजी नागरिक अभियानले हरिहर भवनस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि धर्ना र प्रदर्शन गर्दै प्रतिवेदन सार्वजनिक गर्न दबाब दिएको हो।

प्रदर्शनकारीहरूले ब्यानर र प्लेकार्डसहित “सरकारदेखि डरायो, प्रतिवेदन हरायो” जस्ता नारा लगाउँदै आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन लुकाइएको आरोप लगाएका छन्।
उनीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।

प्रदर्शन शान्तिपूर्ण भनिए पनि निषेधित क्षेत्र तोड्ने प्रयास भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सो क्रममा १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ, जसमा ९ पुरुष र १ महिला रहेका छन्।
आन्दोलनकारीहरूले आयोगले तयार पारेको भनिएको प्रतिवेदन सार्वजनिक नगरेसम्म दबाबका कार्यक्रम जारी राख्ने चेतावनीसमेत दिएका छन्।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार













प्रतिक्रिया