धनगढी । मादक पदार्थ सेवन (मापसे) गरेर सरकारी सवारी चलाउँदा दुर्घटना गराएका कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टलाई धनगढी उपमहानगरपालिकाले ३५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने निर्णय गरेको छ ।
गत शनिबार राति मेयर भट्टले चलाएको सुपप्र ०१–००१ झ ६०१ नम्बरको सरकारी गाडी मोहनापुल–अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत गेटा क्षेत्रमा दुर्घटनामा परेको थियो । मापसे गरेका अवस्थामा चलाइएको उक्त गाडी सडक छेउमा राखिएको रेलिङमा ठोक्किँदा संरचनामा क्षति पुगेको हो ।
धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालको सचिवालयका अनुसार प्राविधिक टोलीले गरेको मूल्याङ्कनमा रेलिङ मर्मत गर्न ३५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सोही आधारमा मेयर भट्टसँग उक्त रकम बराबरको क्षतिपूर्ति असुल गर्ने प्रक्रिया अघि बढाइएको हो ।
उपमहानगरपालिकाले रकम उठाउन नगर प्रहरी परिचालन गरे पनि मेयर भट्टले आफूले नै रेलिङ मर्मत गरिदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने जोसुकैबाट पनि क्षतिपूर्ति असुल गर्ने नीति अवलम्बन गर्दै आएको जनाएको छ ।
यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले मापसे गरी सवारी चलाएको र लापरबाही गरेको अभियोगमा मेयर भट्टलाई १ हजार रुपैयाँ जरिवाना तिराएर सवारी छाडेको थियो ।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया