काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समितिमा हालै गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् ।
उनले वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै संविधानवाद र लोकतन्त्र कमजोर पार्ने प्रवृत्ति बढिरहेको बताएका छन् । जनआकर्षणको नाममा (पपुलिज्म) पार्टीका आदर्श, मूल्य र सिद्धान्तमाथि निरन्तर प्रहार भइरहँदा समेत पार्टीभित्र गुट–उपगुटमा विभाजन हुनु गम्भीर र चिन्ताजनक अवस्था भएको उनको भनाइ छ ।
डा. शेखर कोइरालाले यस्तो प्रवृत्तिको छिटो अन्त्य हुनुपर्नेमा जोड दिँदै त्यसो भए मात्र नेपालको लोकतान्त्रिक प्रणालीले आफ्नो मौलिक चरित्र पुनः स्थापित गर्न सक्ने उल्लेख गरेका छन् ।
उनका अनुसार कांग्रेससँग आबद्ध हजारौँ युवा, संघर्षशील र त्यागी कार्यकर्ताको राजनीतिक भविष्य तथा राष्ट्र निर्माणमा उनीहरूको प्रभावकारी भूमिका सुनिश्चित गर्न भावनात्मक एकता अपरिहार्य रहेको छ ।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया