काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैली, संसदीय मर्यादा र लोकतान्त्रिक मूल्यप्रति गम्भीर असन्तुष्टि जनाउँदै सरकारलाई “क्रूर र असंवेदनशील” शैली अपनाएको आरोप लगाएको छ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक भीष्मराज आङदेम्बेले सरकारले लोकतान्त्रिक प्रणाली र संसदीय परम्परालाई कमजोर बनाउँदै अध्यादेशमार्फत शासन चलाउने प्रयास गरेको दाबी गरे।
उनका अनुसार संसदको अधिवेशन चलिरहेको अवस्थामा समेत ठूलो संख्यामा कानुन अध्यादेशमार्फत ल्याइनु अस्वाभाविक र असंसदीय अभ्यास हो।
उनले सरकारलाई “अध्यादेशको पहिरो लागेको भीरको डिलमा उभिएको” भन्दै टिप्पणी गरे।
कानुन निर्माणको अधिकार संसदबाट खोसेर कार्यपालिकाले एकल रूपमा अघि बढ्ने प्रवृत्तिले लोकतन्त्र कमजोर बनाएको उनको आरोप छ।
सुकुम्बासी तथा भूमिहीन बस्तीमा गरिएको डोजर कारबाहीप्रति पनि उनले कडा आपत्ति जनाए।
उनले सरकारको व्यवहारलाई “यमदूतजस्तो क्रूर” भन्दै आलोचना गर्दै गरिब तथा कमजोर वर्गप्रति राज्यले संवेदनशीलता गुमाएको टिप्पणी गरे।
सांसद आङदेम्बेले सुत्केरी, बालबालिका र वृद्धवृद्धालाई पनि प्रभावित पार्ने गरी गरिएको कारबाहीलाई मानवताविरोधी भन्दै यस्तो शैलीले सरकार अभिभावक नभई दमनकारी जस्तो देखिएको बताए।
यसैबीच, राष्ट्रपति नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री सदनबाट बाहिरिएको घटनालाई उनले गम्भीर राजनीतिक लज्जास्पद अभ्यासको संज्ञा दिए।
उनले प्रधानमन्त्रीको यस्तो व्यवहारले देशको प्रतिष्ठा अन्तर्राष्ट्रिय रूपमा समेत कमजोर बनाएको टिप्पणी गरे।
आङदेम्बेले सरकारमाथि सुशासनको नाराभन्दा व्यवहारमा कमजोरी देखिएको आरोप लगाउँदै, उच्च पदस्थ व्यक्तिहरूमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन हुन नसकेको पनि बताए।
उनले २०४७ सालदेखिका सम्पत्ति छानबिनका विषयहरू केवल घोषणामै सीमित भएको भन्दै पुराना आयोगका प्रतिवेदनहरू कार्यान्वयन नहुनुमा सरकारको उदासीनता रहेको बताए।
संविधान संशोधन प्रक्रियालाई पनि उनले आलोचना गर्दै विज्ञहरूको सहभागिताबिना अघि बढाइएका कार्यदलहरू अपरिपक्व हुने चेतावनी दिए।
साथै, नेपाल–भारत सीमा र भन्सार व्यवस्थापनमा देखिएको समस्याबारे व्यावहारिक समाधान आवश्यक रहेको उनको धारणा थियो।
कांग्रेसले वर्तमान नीति तथा कार्यक्रमलाई “नयाँ भाष्य तर पुरानै सोच” भएको टिप्पणी गर्दै सरकारलाई संसदप्रति उत्तरदायी बन्न र संवादमार्फत अघि बढ्न आग्रह गरेको छ।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया