काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले संसदलाई सम्बोधन नगरेको विषयमा कडा प्रश्न उठाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशमा प्रधानमन्त्रीको सक्रियता नै प्रश्नको विषय बनेको टिप्पणी गरे ।
साम्पाङले प्रधानमन्त्रीले संसदमा उपस्थित भई सांसदका प्रश्नहरूको जवाफ दिनुपर्ने दायित्व रहेको उल्लेख गर्दै त्यसको अवहेलना गर्नु जनताको आवाजलाई बेवास्ता गर्नु भएको बताए । उनले भने, ‘प्रधानमन्त्री छन् भने किन सदनमा आउँदैनन् ? सांसदका प्रश्नको जवाफ नदिनु भनेको जनताका प्रश्नबाट भाग्नु हो ।’
उनले जवाफ दिन नसक्ने नेतृत्व असक्षम ठहरिने उल्लेख गर्दै सरकारको कार्यक्षमतामाथि नै प्रश्न उठाए । जनताको जिउधनको सुरक्षा गर्न नसक्ने र राष्ट्रिय सीमा जोगाउन समेत प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने सरकारलाई सफल भन्न नसकिने उनको धारणा थियो ।
सांसद हर्क साम्पाङले सीमावर्ती क्षेत्रमा भारतले गरिरहेको निर्माण गतिविधिबारे पनि सरकारसँग स्पष्टता माग गरेका छन् । उनले यस्ता काम नेपाल सरकारको सहमति अनुसार भइरहेको हो वा एकतर्फी रूपमा भइरहेको हो भन्नेबारे जवाफ दिन आग्रह गरे ।
महाकाली नदी आसपास भइरहेको निर्माणलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले सरकारलाई राष्ट्रिय हितका विषयमा गम्भीर बन्न आग्रह गरेका छन् ।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया