काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र मार्फत स्थापित समावेशी र समानुपातिक प्रतिनिधित्वलाई नेपालको राजनीतिक परिवर्तनको ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले संसदमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु तथा उत्पीडित समुदायको उपस्थितिलाई आफ्नो पार्टीको चुनावी सफलताभन्दा पनि ठूलो उपलब्धि भएको बताएका हुन् ।
प्रचण्डले वर्तमान संसदलाई “रगत र बलिदानले लेखिएको इतिहास” को संज्ञा दिँदै परिवर्तन सहज रूपमा नआएको उल्लेख गरे ।
उनले लामो जनसंघर्ष, युद्ध र बलिदानकै परिणामस्वरूप राज्यका हरेक तहमा उत्पीडित समुदायको पहुँच स्थापित भएको दाबी गरे ।
उनले संसदमा देखिएको विविध समुदायको उपस्थितिप्रति गर्व व्यक्त गर्दै भने, “परिणामका हिसाबले पार्टी सानो वा ठूलो जे भए पनि प्रतिनिधिसभामा उत्पीडित समुदायको इन्द्रेणी प्रतिनिधित्व मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हो ।”
प्रचण्डले विगतको राज्य संरचनामा सीमित वर्ग र समुदायको मात्रै पहुँच रहेको स्मरण गर्दै अहिलेको समावेशी व्यवस्था क्रान्तिको उपलब्धि भएको जिकिर गरे ।
उनले आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु तथा पछाडि पारिएका समुदायको प्रतिनिधित्व उल्लेखनीय रूपमा बढेको बताए ।
सम्बोधनका क्रममा उनले भावुक शैलीमा क्रान्तिका बलिदानीहरूको स्मरण समेत गरे । “यो प्रतिनिधित्वको कथा रगतले लेखिएको हो ।
काँधमा बन्दूक र पिठ्युँमा दुधे बालक बोकेर संघर्ष गरेका महिलाहरूको बलिदानले यो परिवर्तन सम्भव भएको हो,” उनले भने ।
उत्पीडित समुदायका प्रतिनिधिहरू अहिले मन्त्री र सांसद बन्न पुगेको प्रसङ्ग उल्लेख गर्दै उनले प्रश्न गरे, “सामन्तवादविरुद्ध उठाइएको बन्दूकले ढोका नखोलिदिएको भए उत्पीडित समुदायका प्रतिनिधिहरू यहाँ आएर कसरी मन्त्री बन्नुहुन्थ्यो ?”
प्रचण्डले राजनीतिक दल फरक भए पनि समावेशी प्रतिनिधित्वको उपलब्धिप्रति सबैले गर्व गर्नुपर्ने धारणा राखे ।
उनले आफूहरूले संघर्ष र बलिदानमार्फत परिवर्तनको “मशाल आफ्नै रगतले बालेको” दाबी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया