काठमाडौं । नेकपा एमालेकी नेतृ तथा समाजशास्त्री विद्या भट्टराई ले बामपन्थी आन्दोलनले आफ्नो विगत, वर्तमान र भविष्यबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएकी छन्।
मंगलबार काठमाडौंमा आयोजित ‘आजको राजनीति : चुनौती, एजेन्डा र निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बामपन्थी आन्दोलनले आफ्नो मूल वैचारिक पहिचान कति जोगाउन सक्यो भन्ने विषय अहिलेको प्रमुख बहस हुनुपर्ने धारणा राखिन्।
उनले बामपन्थी आन्दोलनले विगतमा समाज परिवर्तनका ठूला एजेन्डा अघि सारे पनि निर्णय र कार्यान्वयनको चरणमा पुग्दा कमजोर बन्ने प्रवृत्ति देखिएको बताइन्। “हामी क्रान्तिकारी कुरा धेरै गर्छौं, तर परिणाम दिने ठाउँमा पुग्दा अलमलिन्छौं,” भन्दै उनले आन्दोलन वैचारिक रूपमा क्रमशः कमजोर बन्दै गएको टिप्पणी गरिन्।
भट्टराईले संविधान निर्माणलाई ऐतिहासिक उपलब्धि मान्दै त्यसको पूर्ण कार्यान्वयनमा राजनीतिक दलहरू चुकेको उल्लेख गरिन्। संविधानले सामाजिक न्याय, समावेशी लोकतन्त्र र समाजवादउन्मुख राज्यको परिकल्पना गरे पनि व्यवहारमा ती विषय प्रभावकारी रूपमा लागू हुन नसकेको उनको भनाइ थियो।
उनका अनुसार संविधान निर्माणपछि विभिन्न राजनीतिक शक्ति र आन्दोलनबीच सहमति भए पनि असहमत पक्षसँग पर्याप्त संवाद हुन नसक्दा समस्या बढेको हो। “संविधान सबैको साझा दस्तावेज भनिए पनि त्यसलाई सबै पक्षलाई समेटेर अघि बढाउने अभ्यास कमजोर रह्यो,” उनले भनिन्।
भट्टराईले बामपन्थी आन्दोलनले सामाजिक मुद्दालाई राजनीतिक आन्दोलनका रूपमा उठाए पनि सत्तामा पुगेपछि ती मुद्दा कमजोर बन्दै गएको विश्लेषण गरिन्। त्यसको सट्टा सत्ता, वर्चस्व र शक्ति सन्तुलनमा केन्द्रित राजनीति हाबी हुँदै गएको उनको धारणा थियो।
उनले राजनीतिक दलभित्र विचारको विकास कमजोर हुनु तथा नेतृत्व हस्तान्तरण नहुनु पनि अहिलेको प्रमुख चुनौती भएको बताइन्। लामो समय एउटै नेतृत्व कायम रहँदा संस्थागत सुधार र नयाँ पुस्ताको सहभागिता कमजोर हुने उनले उल्लेख गरिन्।
दलाल पुँजीवादको प्रभाव, सामाजिक न्यायको कमजोर कार्यान्वयन र समाज–राज्य सम्बन्धमा आएको दूरीले बामपन्थी आन्दोलनमाथि प्रश्न उठेको उनको भनाइ थियो।
कार्यक्रममा उनले राजनीतिक शक्ति मात्र नभई सामाजिक शक्ति, शिक्षा, प्रविधि र नागरिक चेतनालाई पनि परिवर्तनको महत्वपूर्ण शक्तिका रूपमा बुझ्नुपर्ने आवश्यकता औंल्याइन्।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया