काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिएको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित तीन जनाविरुद्ध मुद्दा दायर गरिएको छ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार अधिकारीको निर्देशन र मिलेमतोमा ‘ईजीएन’ नामक आतङ्ककारी समूहको नाम प्रयोग गर्दै प्रमुख आयुक्त राईलाई राजीनामा नदिए ज्यान लिने धम्की दिइएको खुलेको छ। यस प्रकरणमा काभ्रेका ३४ वर्षीय प्रकाश पाठक र झापाका ५६ वर्षीय तारा प्रसाद खरेललाई समेत प्रतिवादी बनाइएको छ।
अनुसन्धानका क्रममा उनीहरूले ह्वाट्सएप नम्बर र भिडियो सन्देशमार्फत प्रमुख आयुक्तलाई राजीनामा दिन दबाब दिँदै आपराधिक लाभ (एक्सटर्सन) लिन डर–त्रास देखाएको पाइएको प्रहरीले जनाएको छ।
प्रतिवादीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुलुकी अपराध संहिता–२०७४ अन्तर्गत ज्यान मार्ने उद्योग, आपराधिक षड्यन्त्र, आपराधिक लाभ लिन नहुने तथा हुण्डी कारोबारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ।
यसका साथै विद्युतीय कारोबार ऐन–२०६३ र सङ्गठित अपराध निवारण ऐन–२०७० अन्तर्गतका गम्भीर कसुरमा समेत कारबाहीको माग गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानले यो समूहले योजनाबद्ध रूपमा सङ्गठित अपराध गरेको देखिएकाले थप सजायको मागदाबीसमेत गरिएको छ।
प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार













प्रतिक्रिया