काठमाडौं। सदनको नियमित कार्यसूची अघि बढ्न नसकेपछि सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल सुरु गरेका छन् ।
प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको अवरोधपछि प्रभावित बनेको छ ।
संसद् सुचारु गराउने उद्देश्यसहित सभामुखले विभिन्न दलका नेताहरूसँग सहमतिको प्रयास थालेका हुन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री स्वयं उपस्थित भएर दिनुपर्ने माग विपक्षी दलहरूले राखेका थिए ।
विपक्षी सांसदहरूले प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थितिलाई अनिवार्य बताउँदै सरकार गम्भीर बन्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
तर प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभई अर्थमन्त्रीलाई नीति तथा कार्यक्रमसम्बन्धी प्रस्ताव प्रस्तुत गर्न समय दिइएपछि विपक्षी दलहरू आक्रोशित बने ।
सभामुखले अर्थमन्त्रीलाई बोल्न अनुमति दिएलगत्तै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाउन थालेका थिए ।
उनीहरूले प्रधानमन्त्री अनुपस्थित रहनुलाई संसद् र जनताप्रति गैरजिम्मेवार व्यवहार भएको आरोप लगाए ।
सदनमा लगातार नाराबाजी र विरोध जारी रहेपछि बैठकको कार्यसूची प्रभावित बनेको थियो ।
वातावरण सहज नबनेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।
त्यसपछि उनले दलहरूबीच सहमति खोज्न प्रमुख सचेतक तथा सचेतकहरूसँग छुट्टाछुट्टै छलफल अघि बढाएका हुन् ।
हाल संसद् भवनभित्र सत्ता पक्ष र प्रतिपक्षबीच सहमति जुटाउने प्रयास जारी रहेको बताइएको छ ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिबिना नीति तथा कार्यक्रममाथिको छलफल अघि बढ्न नसक्ने अडान कायम राखेका छन् भने सत्ता पक्षले संसद्को काम कारबाही अवरुद्ध नगर्न आग्रह गरिरहेको छ ।
सभामुखको पहलपछि दलहरूबीच सहमति जुटेमा स्थगित बैठक पुनः सञ्चालन हुने सम्भावना रहेको छ ।
प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार













प्रतिक्रिया