काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री अनुपस्थित रहे पनि सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा छलफल अघि बढाउनुपर्ने धारणा राखेको छ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अनिवार्य उपस्थितिको माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरिरहेका बेला रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले यस्तो अभिव्यक्ति दिएका हुन्।
बुर्लाकोटीले प्रधानमन्त्रीको तर्फबाट प्रस्ताव मन्त्रीले प्रस्तुत गर्न मिल्ने तर छलफलका लागि प्रधानमन्त्री नै अनिवार्य हुनुपर्ने तर्क उपयुक्त नभएको बताएका छन्। उनले संसदीय नियमावलीमा प्रधानमन्त्री उपस्थित नभए नीति तथा कार्यक्रममाथि छलफल गर्न नपाइने कुनै व्यवस्था नरहेको उल्लेख गर्दै विपक्षीको ध्यानाकर्षण गराए।
संविधान र कानुनले प्रधानमन्त्रीलाई आफ्नो कार्यभार अन्य मन्त्रीलाई तोक्ने अधिकार दिएको स्मरण गराउँदै उनले सरकार सोही व्यवस्था अनुरूप अघि बढेको स्पष्ट पारे। प्रस्ताव टेबुल गर्न दिने तर छलफलमा अवरोध गर्ने विपक्षीको व्यवहार दोहोरो भएको उनको आरोप छ।
उनले भने, “नियमावलीमा प्रधानमन्त्री स्वयं उपस्थित हुनैपर्ने व्यवस्था छैन। सहमतिअनुसार मन्त्रीमार्फत प्रस्ताव टेबुल भइसकेको अवस्थामा अब छलफल अघि बढ्नुपर्छ। टेबुल गर्न दिने तर छलफल रोक्ने कुरा उचित होइन।”
विपक्षी दलहरू प्रधानमन्त्रीको उपस्थिति मात्र हेरेर संसद् अवरुद्ध गर्न लागेको भन्दै उनले आलोचना गरे। प्रक्रियागत रूपमा अघि बढिसकेको विषयलाई रोकेर संसद् अवरुद्ध गर्नु उचित नभएको उल्लेख गर्दै उनले संसदीय अभ्यासअनुसार मन्त्रीमार्फत छलफल सञ्चालन गर्नुपर्ने र त्यसमा सहभागी हुन विपक्षीलाई आग्रह गरेका छन्।
प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार













प्रतिक्रिया