काठमाडौं। नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टी नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै नेतृत्व नसच्चिए फरक बाटो तय गर्न बाध्य हुने चेतावनी दिएका छन्।

बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै बस्नेतले पार्टीभित्र अविश्वास र विभाजनको अवस्था सिर्जना हुनुमा नेतृत्व तहकै कमजोरी जिम्मेवार रहेको आरोप लगाए।

advertisement

उनले सभापति गगन थापामाथि पार्टीलाई विधि–विधानविपरीत कब्जा गर्न खोजेको आरोप लगाउँदै वर्तमान प्रक्रिया तत्काल सच्याउन माग गरे।

बस्नेतले अहिले भइरहेको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया खारेज गर्नुपर्ने अडान राख्दै साझा सहमतिका आधारमा नयाँ छानबिन समिति गठन गर्नुपर्ने बताए।

उनले १५औँ महाधिवेशनका लागि फरक–फरक मिति घोषणा गरिएकोप्रति पनि आपत्ति जनाउँदै सामूहिक सहमतिमा नयाँ मिति तय गर्नुपर्ने धारणा राखे।

सम्बोधनका क्रममा उनले भने, “गलत तरिकाले पार्टी कब्जा गर्ने प्रयास भइरहेको छ। साथीहरूको सहमतिबिना म कहिल्यै कसैसामु झुक्ने छैन। नेतृत्व नसच्चिए नयाँ नेतृत्व जन्मिनेछ।”

बस्नेतले पटक–पटक निर्वाचन हार्ने व्यक्तिहरूको नेतृत्वका कारण कांग्रेस कमजोर बनेको टिप्पणी गर्दै आफ्नो समूहलाई देशभर सशक्त रूपमा परिचालन गरिने घोषणा पनि गरे।

पार्टी र प्रजातन्त्र जोगाउन आवश्यक परे ‘फरक बाटो’ रोज्न सकिने सङ्केत गर्दै उनले आगामी दिनमा थप सशक्त राजनीतिक कार्यक्रम अघि बढाइने बताएका छन्।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com