काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङ ले ताइवान मुद्दालाई चीन–अमेरिका सम्बन्धको सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण विषय भएको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा रहेका बेला सीले ताइवान विषयलाई लिएर सम्भावित द्वन्द्वको चेतावनी दिएका हुन्।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सी जिनपिङले ताइवान मुद्दा सही ढङ्गले व्यवस्थापन गरिए चीन र अमेरिकाबीचको सम्बन्ध स्थिर रहने, तर गलत रूपमा हेरिए दुवै देश टकराव र द्वन्द्वतर्फ जान सक्ने बताएका छन्।
उनले भने, “यदि ताइवान मुद्दालाई सही ढङ्गले सम्हालिएन भने चीन–अमेरिका सम्बन्ध अत्यन्त खतरनाक मोडमा पुग्न सक्छ।”
सीले ताइवान स्वतन्त्रताको पक्षधर गतिविधिलाई ताइवान जलडमरू क्षेत्रमा शान्तिको विपरीत रहेको टिप्पणी गर्दै उक्त क्षेत्रमा स्थायित्व कायम राख्नु चीन र अमेरिकाको साझा हित भएको उल्लेख गरे।
ताइवान स्वशासित टापु भए पनि चीनले त्यसलाई आफ्नो अभिन्न भूभाग मान्दै आएको छ।
आवश्यक परे बल प्रयोग गरेर नियन्त्रणमा लिन सकिने चेतावनी चीनले विगतदेखि दिँदै आएको छ।
पछिल्ला वर्षहरूमा चीनले ताइवान वरिपरि सैन्य गतिविधि र युद्धाभ्यास तीव्र बनाएको छ।
केही अभ्यासलाई नाकाबन्दी शैलीको सैन्य तयारीका रूपमा समेत हेरिएको छ, जसले ताइवान र उसका सहयोगी राष्ट्रहरूको चिन्ता बढाएको छ।
गत वर्ष ट्रम्प प्रशासनले ताइवानलाई ११ अर्ब अमेरिकी डलर बराबरको हतियार बिक्री गर्ने घोषणा गरेको थियो।
उक्त निर्णयको चीनले तीव्र विरोध गर्दै अमेरिका तर्फ चेतावनी दिएको थियो।
प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया