काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनताको अपेक्षा सम्बोधन गर्न नसकेको टिप्पणी गरेकी छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले वर्तमान सरकारप्रति जनताले ठूलो आशा र भरोसा राखेको भए पनि प्रस्तुत दस्तावेजले त्यसलाई पूरा गर्न नसकेको दाबी गरिन् ।

advertisement

अर्यालले नीति तथा कार्यक्रममा स्पष्ट दृष्टिकोण, कार्यान्वयनको ठोस आधार र जनजीवनमा परिवर्तन ल्याउने साहसिक संकल्प नदेखिएको आरोप लगाइन् । उनका अनुसार नीति तथा कार्यक्रम शब्दमा सीमित छ, तर व्यवहारिक दिशानिर्देश र कार्यान्वयन योजना स्पष्ट छैन ।

उनले भनिन्, ‘नेपाली जनताले सरकारप्रति ठूलो आशा राखेका थिए। शासन शैली, राज्यको सोच र प्राथमिकता बदलिने अपेक्षा थियो। तर दुर्भाग्यवश, प्रस्तुत नीति तथा कार्यक्रमले ती अपेक्षा सम्बोधन गर्न सकेन। यसमा शब्द छन्, तर दृष्टि छैन; घोषणा छन्, तर दिशानिर्देश छैन; नाराहरू छन्, तर कार्यान्वयनको आधार छैन।’

उनले आफूलाई नवीन सोचको सरकार भनेर प्रस्तुत गर्ने नेतृत्वको दस्तावेजमै नवीनता र स्पष्टता नदेखिएको बताइन् । साथै, नीति र कार्यक्रमबीचको स्पष्ट भिन्नता पनि छुट्याउन नसकिएको उनको टिप्पणी थियो ।

अर्यालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ जस्तो राष्ट्रिय संकल्पलाई नीति तथा कार्यक्रमबाट हटाइएकोप्रति पनि असन्तुष्टि जनाइन् ।

उनले थप भनिन्, ‘यो दस्तावेज सरकारको मात्र होइन, राष्ट्रको साझा दस्तावेज हो। त्यसैले यसको आलोचना विरोधका लागि विरोध होइन, सुधारका लागि आवश्यक सुझाव हो।’

प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com