काठमाडौं। विश्व बैंकले नेपालको शैक्षिक क्षेत्र को विकासका लागि थप लगानी र सहकार्य गर्न इच्छुकता देखाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल सँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा नेपालस्थित विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले नेपालमा शैक्षिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
भेटका क्रममा दुवै पक्षबीच नेपालको शिक्षा क्षेत्र सुधार, विद्यालय पूर्वाधार विस्तार तथा प्रविधिमैत्री शिक्षा प्रणाली विकासबारे विस्तृत छलफल भएको थियो।
विश्व बैंकले विशेषगरी विद्यालय पूर्वाधार सुधार, गुणस्तरीय शिक्षामा पहुँच विस्तार र दीर्घकालीन शैक्षिक सुधारका कार्यक्रमहरूमा थप लगानी गर्न इच्छुक रहेको जनाएको छ।
मन्त्रालयका अनुसार दीर्घकालीन सुधार, शिक्षाको गुणस्तर वृद्धि तथा प्रविधिको अधिकतम प्रयोगमार्फत शिक्षा प्रणालीलाई आधुनिक बनाउने विषयमा पनि छलफल भएको थियो।
मन्त्री पोखरेलले नेपाल सरकारले शैक्षिक पूर्वाधार विकास, प्रारम्भिक सिकाइ (फाउन्डेसन लर्निङ) सुदृढीकरण तथा शिक्षामा डिजिटाइजेसनलाई प्रमुख प्राथमिकताका रूपमा अघि बढाएको जानकारी दिएका थिए।
प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया