काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूको कार्यक्षमता अभिवृद्धि गर्न स्वकीय सचिवको सुविधा पुनः बहाल गर्नुपर्ने माग गरेको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै रास्वपाका सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्यले सांसदहरूको क्षमता विकासका लागि राज्यले लगानी गर्नुपर्ने धारणा राखे ।
उनले सांसदहरूलाई सशक्त र प्रभावकारी बनाउन नीति तथा कार्यक्रममा नै उनीहरूको वृति विकास र क्षमता अभिवृद्धिका विषय समेटिनुपर्ने बताए । “सांसदहरूको क्षमता विकासमा राज्यले लगानी गर्नुपर्छ, त्यसको पहिलो चरणका रूपमा स्वकीय सचिवको सुविधा पुनः प्रदान गरियोस्,” उनले भने ।
यसअघि सांसदहरूले स्वकीय सचिवको सुविधा पाउँदै आएका थिए । तर तत्कालीन सरकारको मितव्ययिता र अनुत्पादक खर्च कटौती गर्ने निर्णयअनुसार उक्त सुविधा खारेज गरिएको थियो ।
उक्त निर्णयपछि संघीय संसदका केही पदाधिकारीहरूले असन्तुष्टि जनाउँदै पुनः व्यवस्था गर्न माग गर्दै आएका छन् । यस विषयमा संसद सचिवालय व्यवस्थापन समितिले प्रक्रिया अघि बढाए पनि अन्तिम निर्णय भने हुन बाँकी छ ।
यसैबीच, आचार्यले सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउन स्वकीय सचिवको व्यवस्था नीति तथा कार्यक्रममा नै समेटिनुपर्नेमा जोड दिएका छन् ।
प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया