काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ) ले सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरूको जवाफ स्वयं प्रधानमन्त्रीले दिनुपर्ने अडान व्यक्त गरेका छन् ।
बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि भइरहेको छलफलका क्रममा बोल्दै उनले प्रधानमन्त्रीले बहस सुन्न उपस्थित नभए पनि कम्तीमा जवाफ दिने बेला सदनमा उपस्थित हुनुपर्ने बताए ।
उनले भने, ‘प्रधानमन्त्री यहाँ उपस्थित भएर छलफल सुन्नुभएको छैन, तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने विश्वास लिएको छु।’
साम्पाङले प्रधानमन्त्री उपस्थित नभए आफ्नो दलले सदन बहिष्कार गर्ने चेतावनीसमेत दिए । ‘यदि प्रधानमन्त्री आउनुहुन्न भने हामी सदनबाट बाहिरिनेछौं । हामीले अरू कसैबाट जवाफ सुन्ने अवस्था छैन,’ उनले स्पष्ट पारे ।
प्रधानमन्त्री स्वयं उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै उनले व्यंग्यात्मक शैलीमा थपे, ‘आफ्नो बिहेमा अरूलाई बेहुला बनाएर पठाइँदैन। त्यसैले उहाँले नै उत्तर दिनुपर्छ। काग कराउँदैमा पिना सुक्दैन भन्ने कुरा यहाँ लागू हुँदैन।’
प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया