काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पूर्वगृहमन्त्री सुधन गुरुङ विरुद्ध उठेका आरोपबारे निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने बताएका छन्।

शुक्रबार सरकारद्वारा गठित छानबिन समितिबारे प्रतिक्रिया दिँदै उनले कुनै पूर्वाग्रह बिना सत्यतथ्य बाहिर ल्याउने ढंगले अनुसन्धान हुनुपर्नेमा जोड दिएका हुन्। समितिले तथ्य खोज्नुको सट्टा आरोपितलाई उन्मुक्ति दिनेतर्फ उन्मुख हुन सक्ने आशंका व्यक्त गर्दै उनले भने, ‘छानबिन निष्पक्ष होस्, कसैलाई चोख्याउने प्रयत्न मात्र नहोस्।’

advertisement

पूर्वगृहमन्त्री गुरुङ विवादित व्यवसायी दीपक भट्ट सँगको सेयर लगानी तथा आर्थिक सम्बन्धका कारण विवादमा तानिएका थिए। यस विषयमा सार्वजनिक रूपमा प्रश्न उठेपछि उनीमाथि राजनीतिक तथा नैतिक दबाब बढ्दै गएको थियो।

यसैक्रममा गुरुङले ९ वैशाखमा नैतिक जिम्मेवारी स्वीकार गर्दै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। तर, राजीनामापछि पनि लामो समयसम्म छानबिन समिति गठन नभएको भन्दै आङ्देम्बेले गत बुधबार संसद् बैठकमै सरकारको आलोचना गरेका थिए।

संसद्मा सम्बोधन गर्दै उनले सरकारको दोहोरो मापदण्डमाथि प्रश्न उठाउँदै भनेका थिए, ‘पूर्वगृहमन्त्रीमाथि छानबिन नगर्ने तर अरूमाथि भ्रष्टाचारको आरोपमा आक्रामक ढंगले अघि बढ्ने प्रवृत्ति उचित होइन।’ उनले सोही क्रममा “छानबिन समिति किन गठन भएन?’ भन्दै सरकारसँग स्पष्ट जवाफ मागेका थिए।

त्यसको भोलिपल्ट बिहीबार सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी को नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको घोषणा गरेको हो। समितिलाई गुरुङमाथि लागेका आरोपबारे अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com