काठमाडौं । विद्यार्थी दिवस को अवसर पारेर संयुक्त विद्यार्थी संगठनहरूले शुक्रबार काठमाडौंमा मार्चपास तथा विरोध प्रदर्शन गरेका छन्। ‘प्रतिबन्धविरुद्ध प्रतिरोध गरौं’ भन्ने नारासहित आयोजित प्रदर्शनमा विद्यार्थीहरूले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता तथा विद्यार्थी अधिकारको पक्षमा आवाज उठाएका हुन्।
त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म आयोजित मार्चपासमा सहभागी विद्यार्थीहरूले विभिन्न प्लाकार्डसहित प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा ‘इनफ इज इनफ’, ‘गरिबको चमेली बोल्दिने कोही छैन’, ‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’ तथा ‘प्रधानमन्त्री नशा, देश दशामा’ लगायतका नाराहरू लगाइएको थियो।
विद्यार्थी संगठनहरूले विश्वविद्यालयभित्र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै त्यसको विरोधमा कार्यक्रम आयोजना गरिएको बताएका छन्। उनीहरूले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी दिएका छन्।
विद्यार्थी दिवसको सन्दर्भमा गरिएको उक्त प्रदर्शनलाई विद्यार्थी अधिकार, स्वतन्त्र विद्यार्थी राजनीति तथा शैक्षिक संस्थाको स्वायत्तताको पक्षमा गरिएको सांकेतिक प्रतिरोधका रूपमा हेरिएको छ।
प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया