काठमाडौं । पोखराको मित्रमिलन बचत तथा ऋण सहकारीबाट ऋण लिएर नतिर्नेहरू विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लामो समय अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गरेको हो ।

advertisement

वैशाख २८ गते प्रतिवेदन पेस भएपछि प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए । सहकारीको २९ करोड ४६ लाख रुपैयाँ हिनामिना भएको पुष्टि भएको छ ।

लामो समय ऋण नतिर्ने २७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको उनले बताए । सबैजना अहिले फरार रहेकाले खोजी तीव्र पारिएको छ । पक्राउ पुर्जी जारी हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बोधराज रेग्मीदेखि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू पनि छन् । यसअघि पूर्वरजिष्ट्रार र वडाध्यक्षसहित ३३ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ ।

सहकारी रजिष्ट्रारको कार्यालयले गरेको छानबिन तथा बचतकर्ताको जाहेरीका आधारमा सबैको बिगो छुट्याएर प्रतिवादी कायम गरिएको बस्नेतले बताए । ‘हरेक व्यक्तिको बिगो कायम गरिएको छ । अब सरकारी वकिल कार्यालयले थप अनुसन्धान गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ,’ उनले भने । फरार रहेका रेग्मी रास्वपाबाट अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्याङ्जा १ बाट उम्मेदवार थिए ।

यस्तै, ऋणीहरू रोशमाया गुरुङ, प्रतिमा पौडेल (लम्साल), अमृत परियार, कर्णबहादुर रानाभाट, निकिता केसी, करण चौधरी, सीता कार्की, रेमबहादुर बिक, तारा घर्ती, लिलादेवी गुरुङ, सृजना देवी रिजाल कार्की, आशा आले, रुमबहादुर मल्ल, निपेन्द्र कुमार श्रेष्ठ र बसन्त देव नापित, चन्द्रबहादुर विकलगायत छन् ।

सहकारीका अध्यक्ष रमण पौडेलसहित पदाधिकारीहरूले बचतकर्ताको रकम मन्जुरीबिनै गायब पारेर रियलस्टेट एजेन्टसँगको मिलेमतोमा ठगी गरेको जाहेरीमा उल्लेख छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले ३३ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ । जसमा सहकारी रजिष्ट्रार कार्यालय पोखराका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, राष्ट्रिय सहकारी बैंक पोखराका तत्कालीन प्रबन्धक सन्तोष घिमिरे, पोखरा २१ का वडाध्यक्ष दिपकप्रसाद सुवेदी, अधिवक्ता जनकल्याण पराजुली, सहकारीका अध्यक्ष रमण पौडेल लगायतविरुद्ध अनुसन्धान भइरहेको छ ।

केही फरार छन् भने केही अहिले पनि पुर्पक्षका लागि कारागारमा छन् ।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com