काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी तथा नाइजेरियाका सेनाबीचको संयुक्त अपरेशनमा इस्लामिक स्टेट (आईएस) का एक उच्चस्तरीय कमान्डर अबु–बिलाल अल–मिनुकी मारिएको दाबी गरेका छन्।

शनिबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत प्रतिक्रिया दिँदै ट्रम्पले अल–मिनुकी आईएसको अन्तर्राष्ट्रिय संरचनामा दोस्रो प्रमुख कमान्डरको भूमिकामा रहेको उल्लेख गरेका छन्। उनले अब उक्त व्यक्ति अफ्रिकाका सर्वसाधारणलाई आतंकित पार्ने वा अमेरिकी नागरिकविरुद्ध गतिविधिमा संलग्न हुन नसक्ने बताएका छन्।

advertisement

ट्रम्पले अल–मिनुकीको मृत्युले आईएसको अन्तर्राष्ट्रिय सञ्चालन क्षमतामा कमजोरि आएको दाबी गर्दै उक्त अभियानमा सहयोग गरेकोमा नाइजेरिया सरकारप्रति आभार व्यक्त गरेका छन्।

यद्यपि, यस घटनाबारे अमेरिकी वा नाइजेरियाली सेनाले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। साथै, आईएस वा त्यससँग सम्बद्ध समूहहरूले पनि ट्रम्पको दाबीबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

नाइजेरियाले लामो समयदेखि विभिन्न सशस्त्र इस्लामवादी समूहहरूको हिंसा झेल्दै आएको छ। विशेषगरी बोको हराम र आईएससँग आबद्ध समूहहरूले उत्तरपूर्वी क्षेत्रमा लगातार आक्रमण गर्दै आएका छन्।

यसैबीच, पछिल्ला महिनाहरूमा ट्रम्पले नाइजेरियामा इसाई समुदायमाथि हिंसा भइरहेको आरोप लगाउँदै त्यहाँको सरकारले पर्याप्त कदम नचालेको बताएका थिए। तर, नाइजेरियाली अधिकारीहरूले भने ती आरोप अस्वीकार गर्दै आएका छन्।

गत वर्ष डिसेम्बरमा अमेरिकाले उत्तरपश्चिमी नाइजेरियालाई इस्लामवादी लडाकुहरूको आधार क्षेत्र भन्दै हवाई कारबाहीसमेत सुरु गरेको थियो।

प्रकाशित मिति: २ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com