काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापा सिंगो कांग्रेसको नेतृत्व गर्न अझै सफल हुन नसकेको टिप्पणी गरेका छन्।
शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै खड्काले थापालाई सम्पूर्ण पार्टीलाई समेट्ने नेतृत्व विकास गर्न सुझाव दिएको बताए। उनले थापा अझै सानेपा केन्द्रित नेतृत्वमै सीमित देखिएको आरोपसमेत लगाए।
खड्काले केही दिनअघि थापा र उपसभापति विश्वप्रकाश शर्मा सँग भएको भेटवार्ताको प्रसंग उल्लेख गर्दै पार्टी फुटको संघारमा पुगेको भन्दै त्यसबाट जोगिनुपर्ने धारणा राखेको बताए। ‘पार्टीलाई एकतामा राख्ने कि विभाजनतर्फ लैजाने भन्ने जिम्मेवारी तपाईंहरूकै काँधमा छ,’ आफूले सो भेटमा स्पष्ट रूपमा भनेको उनले बताए।
उनले अदालतको निर्णयपछि थापालाई सभापतिका रूपमा स्वीकार गरिएको पनि उल्लेख गरे। साथै, विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको दाबी गर्दै त्यसकै प्रभावले कांग्रेस प्रतिनिधिसभा निर्वाचनमा ३८ सिटमा सीमित हुनुपरेको टिप्पणी गरे।
खड्काले उक्त निर्णयकै परिणामस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी सशक्त रूपमा उदाएको र दुई तिहाइ नजिकको अवस्थासम्म पुगेको दाबी गर्दै त्यसबेला फरक निर्णय भएको भए मुलुकको राजनीतिक अवस्था नै भिन्न हुन सक्ने बताए।
प्रकाशित मिति: २ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया