काठमाडौं। मध्यपूर्व मा फेरि ठूलो युद्ध को सम्भावना बढ्दै गएको छ।
अमेरिका, इजरायल र इरानबीचको तनाव तीव्र बन्दै जाँदा क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको छ।
इरानी उच्च अधिकारीहरूले अमेरिका र खाडी क्षेत्रका मुलुकहरूलाई सम्भावित सैन्य टकरावबारे कडा चेतावनी दिएका छन्।
इरानका सर्वोच्च नेताका सल्लाहकार मोहम्मद मोखबरले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा हालै गरिएको इरानी आक्रमणलाई उल्लेख गर्दै अब इरानको संयमता लामो समय कायम नरहन सक्ने संकेत दिएका छन्।
उनले इरानले हालसम्म देखाएको संयमता सीमित भएको दाबी गर्दै आवश्यक परे कडा प्रतिक्रिया दिन सकिने चेतावनी दिए।
उनका अनुसार अमेरिकी केन्द्रीय कमान्डका अड्डाहरूमा गरिएको कारबाही अत्यन्त संयमित ढङ्गले गरिएको थियो।
उनले केही खाडी मुलुकहरूले आफ्नो स्वतन्त्रता कमजोर बनाउँदै विदेशी शक्ति र इरानका विरोधी पक्षहरूलाई सहयोग गरिरहेको आरोप समेत लगाए।
यसैबीच, इरानको राष्ट्रिय सुरक्षा परिषदसँग सम्बन्धित सञ्चारमाध्यम नूर न्यूजले एक वरिष्ठ सैन्य अधिकारीलाई उद्धृत गर्दै फेरि आक्रमण भएमा यसअघि बाँकी रहेका संवेदनशील लक्ष्यहरू यसपटक प्रमुख निशानामा पर्ने चेतावनी दिएको छ।
अर्कोतर्फ, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले अमेरिका र इजरायलले इरानविरुद्ध सम्भावित नयाँ सैन्य कारबाहीका लागि ठूलो स्तरको तयारी गरिरहेको उल्लेख गरेका छन्।
उक्त तयारी पछिल्लो युद्धविरामपछिको सबैभन्दा ठूलो भएको बताइएको छ।
अमेरिकी रक्षा मन्त्रालयले पनि विभिन्न सम्भावित अवस्थालाई ध्यानमा राखेर युद्ध सुरु गर्ने वा सेना फिर्ता गर्ने विकल्पसम्मका योजना तयार गरिएको स्वीकार गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परे इरानका सैन्य संरचना र पूर्वाधारमा ठूलो आक्रमण गर्न सकिने संकेत दिएका छन्।
साथै, उनले इरानसँगको सम्झौता नभए देश “गम्भीर परिणाम” भोग्नुपर्ने चेतावनीसमेत दिएका थिए।
ट्रम्पको चीन भ्रमणपछि र चिनियाँ राष्ट्रपति सी जिनपिङ सँगको भेटपछि यो क्षेत्रीय तनाव अझ संवेदनशील बनेको टिप्पणी गरिएको छ।
इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले सामाजिक सञ्जालमार्फत इरानी सेना जुनसुकै आक्रमणको सामना गर्न पूर्ण रूपमा तयार रहेको प्रतिक्रिया दिएका छन्।
यसै क्रममा पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी अचानक तेहरान पुगेका छन्। उनी अमेरिका–इरान वार्तामा मध्यस्थता प्रयासमा संलग्न रहेको बताइन्छ।
इसीबीच, रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलमार्गमा इरानको प्रभाव कायमै रहेको र यसले विश्व ऊर्जा आपूर्तिमा असर पारेको बताइएको छ।
अन्तर्राष्ट्रिय व्यापारका लागि महत्वपूर्ण यो मार्गबारे विभिन्न देशहरूबीच कूटनीतिक छलफल जारी रहेको जनाइएको छ।
प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया