काठमाडौं। गाजामा भएको इजरायली हवाई आक्रमण मा हमासको सशस्त्र शाखा कसम ब्रिगेडका प्रमुख इज्जेदिन अल–हद्दादको मृत्यु भएको इजरायली सेना र हमास दुवैले पुष्टि गरेका छन्।
इजरायली पक्षले उनलाई सन् २०२३ अक्टोबर ७ मा भएको इजरायलमाथिको ठूलो आक्रमणको योजनाकारमध्ये एक मान्दै आएको थियो।
गाजा सहरमा भएको पछिल्लो आक्रमणपछि उनको मृत्यु भएको बताइएको छ।
स्थानीय विवरणअनुसार उनको अन्त्येष्टि गाजा सहरमै गरिएको थियो, जहाँ उनका परिवारका केही सदस्य पनि अघिल्लो दिनको आक्रमणमा मारिएका थिए।
सहायता संस्थाहरूका अनुसार ती आक्रमणहरूमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
यस क्षेत्रमा पहिले भएको युद्धविरामको अवस्था कमजोर रहँदै आएको भए पनि इजरायली सरकारले हमासका लक्षित व्यक्तिहरूमाथि आक्रमण जारी राख्ने बताउँदै आएको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणमा करिब १ हजार २ सय जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो, जसपछि गाजा क्षेत्रमा निरन्तर तनाव र हिंसा जारी छ।
प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया