सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार दुई तिहाइको शक्तिको आडमा नागरिक अधिकारमाथि नियन्त्रण गर्न अग्रसर भएको आरोप लगाएका छन्।
उनका अनुसार सरकारका गतिविधिले देशको लोकतान्त्रिक व्यवस्था नै टिकाउने कि नटिकाउने भन्ने गम्भीर चुनौती उत्पन्न भएको छ।
सुर्खेतको वीरेन्द्रनगरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमका क्रममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले सरकारका पछिल्ला कदमहरू लोकतान्त्रिक अभ्यासविपरीत भएको टिप्पणी गरे।
आफ्नै आह्वानमा बसेको संसद् बैठक भोलिपल्टै रोक्दै अध्यादेश ल्याउने प्रवृत्तिले लोकतन्त्रको मूल मर्ममाथि प्रहार भएको उनको भनाइ थियो।
उनले भने, “नेपालको संसदीय अभ्यासमा यस्तो घटना पहिले कहिल्यै भएको थिएन। यसले लोकतन्त्रको उपहास भएको छ भन्ने आम धारणा बनेको छ।”
प्रचण्डका अनुसार ट्रेड युनियन संरचना कमजोर पार्ने प्रयास र विद्यार्थी संगठनमाथि नियन्त्रणको प्रयासले सरकार लोकतान्त्रिक बाटोबाट टाढिँदै गएको संकेत गर्छ।
उनले सरकारका सकारात्मक काममा सहयोग गर्न तयार रहेको तर नागरिक अधिकारविरुद्धका कदमको भने कडा विरोध जारी रहने स्पष्ट पारे।
“लोकतन्त्रको रक्षा र संविधानको संरक्षणका लागि हामी निरन्तर खबरदारीमा रहनेछौँ,” उनले भने।
प्रदेश सरकार पुनर्गठनसम्बन्धी प्रसङ्गमा उनले कांग्रेस र एमाले दुवै पक्षबाट आएका प्रस्ताव आफूले अस्वीकार गरेको जानकारी दिए।
उनले सबै प्रमुख दलहरू मिलेर राष्ट्रिय सहमतिको साझा सरकार गठन गर्न सकिने विकल्प अघि सारेको पनि उल्लेख गरे।
प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया