कङ्गो। डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा इबोला भाइरस संक्रमण तीव्र रूपमा बढेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ।
अधिकारीहरूका अनुसार हालसम्म ८८ जनाको मृत्यु भइसकेको छ भने ३३६ भन्दा बढीमा संक्रमणको आशंका गरिएको छ।
संक्रमण नियन्त्रणबाहिर जान थालेपछि डब्ल्यूएचओले विश्वव्यापी सतर्कता अपनाउन आग्रह गर्दै आपतकाल घोषणा गरेको हो।
कङ्गोका स्वास्थ्य मन्त्रालयले जनाएको अनुसार हाल फैलिरहेको इबोला प्रजातिका लागि प्रभावकारी खोप उपलब्ध नभएकाले अवस्था अझ जोखिमपूर्ण बनेको छ।
स्वास्थ्य विज्ञहरूले मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्न सक्ने चेतावनी दिएका छन्।
यो प्रकोप कङ्गोको उत्तर–पूर्वी इटुरी प्रान्तबाट सुरु भएको हो, जुन क्षेत्र युगान्डा र दक्षिण सुडानसँग सिमाना जोडिएको भएकाले रोग छिमेकी मुलुकमा फैलिने जोखिम उच्च रहेको बताइएको छ।
प्रारम्भिक अनुसन्धानमा पहिलो संक्रमित एक स्वास्थ्यकर्मी भएको पत्ता लागेको छ, जसका कारण अस्पताल तथा स्वास्थ्य केन्द्रमै संक्रमण फैलिएको आशंका गरिएको छ।
प्रभावित क्षेत्रमा उपचार केन्द्र, आइसोलेसन सुविधा र स्वास्थ्य पूर्वाधारको अभावका कारण धेरै बिरामीहरू घरमै उपचार नपाई ज्यान गुमाउन बाध्य भएको जनाइएको छ।
स्थिति गम्भीर बन्दै गएपछि अन्तर्राष्ट्रिय सहायता निकायहरूले औषधि, विशेषज्ञ टोली र आपतकालीन सहयोग पठाउने तयारी तीव्र पारेका छन्।
प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया