काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले जनताको बहुदलीय जनवाद (जबज) नेपाली समाजको वास्तविकता र आवश्यकतामा आधारित मौलिक राजनीतिक अवधारणा भएको बताएकी छन्।
बल्खुस्थित मदननगरमा आइतबार आयोजित ३३औँ मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिस्ट आन्दोलनलाई संगठनात्मक मात्र नभई वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कृतितर्फ अघि बढाएको उल्लेख गरिन्।
उनका अनुसार दुवै नेताले राजनीति जनजीवनसँग प्रत्यक्ष जोडिएको विषय हो भन्ने धारणा स्थापित गर्दै जनविश्वासलाई केन्द्रमा राखेर राजनीतिक अभ्यास गर्नुपर्ने मान्यता बलियो बनाएका थिए।
विद्यादेवी भण्डारी ले नेकपा एमालेले मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गरेको जनताको बहुदलीय जनवाद नेपाली सामाजिक संरचना र राजनीतिक परिवेशअनुकूल विकसित विचार भएको बताइन्। उनले यसलाई नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोगका रूपमा आत्मसात गरिएको धारणा व्यक्त गरिन्।
उनले उक्त सिद्धान्तले लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै पार्टीलाई जनविश्वास प्राप्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएको पनि उल्लेख गरिन्।
प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया