काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले दासढुंगा घटना अझै पनि अनुत्तरित र रहस्यमय रहेको दाबी गर्दै त्यसलाई केवल दुर्घटना नभई देशी–विदेशी शक्तिहरूको गम्भीर राजनीतिक षड्यन्त्रको परिणाम भएको बताएका छन्।

उनले यस्ता घटनाहरू नेपालको राजनीतिक इतिहासमा पटक–पटक दोहोरिने गरेको टिप्पणी पनि गरेका छन्।

advertisement

मदन–आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा बोल्दै बादलले कोतपर्वदेखि दरबार हत्याकाण्डसम्मका घटनाहरू उल्लेख गर्दै राजनीतिक दल वा नेताहरूलाई चुनौती मानिँदा उनीहरूलाई समाप्त पार्ने प्रयास हुने परम्परा देखिएको दाबी गरे।

उनका अनुसार भदौ २३–२४ मा भएका घटनाहरू पनि सोही शृङ्खलाको निरन्तरता हुन्।

उनले पार्टी कार्यालय, नेताहरूका निजी निवास तथा संरचनामा भएको आगजनी र देशभर देखिएको अस्थिरतालाई संकेत गर्दै त्यसलाई योजनाबद्ध गतिविधि भएको आरोप लगाए।

बादलले भने, “हामीले भदौ २३–२४ मा पनि दासढुंगा प्रकरणकै निरन्तरता देख्यौँ।

राजनीतिक दलका संरचनामाथि आक्रमण भयो, कार्यालयहरू र नेताका घरहरू जलाइए, देशलाई नै अस्थिर बनाउने प्रयास गरियो।”

उनले उक्त घटनाहरूको उद्देश्य तत्कालीन सरकार र संसद्लाई विघटन गराउने षड्यन्त्र भएको दाबी गर्दै यसलाई दासढुंगा घटनाकै निरन्तर कडीका रूपमा बुझ्नुपर्ने बताए।

बादलले पछिल्ला राजनीतिक घटनाक्रम, अध्यादेश, मन्त्रिपरिषद्का निर्णय, पार्टी नेतृत्वमाथि भएका कारबाही र मुद्दाहरूलाई पनि सोही कथित षड्यन्त्रको हिस्सा भएको आरोप लगाए।

उनले एमालेमाथि “समाप्त पार्ने अभियान” चलिरहेको दाबी गर्दै त्यसको प्रतिरोधमा पार्टी एकजुट हुनुपर्ने बताए।

साथै, उनले पार्टी र नेतृत्वको रक्षाका लागि “सतिसाल झैँ दृढ भएर उभिनुपर्ने” आवश्यकता रहेको उल्लेख गरे।

त्यसैगरी, उनले जबज (जनताको बहुदलीय जनवाद) विरुद्ध भ्रम फैलाइएको आरोप लगाउँदै त्यसको रक्षा र विकासका लागि एमाले दृढ रूपमा उभिने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com