काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १४औँ महाधिवेशन बाट निर्वाचित भएका सबै नेताहरूलाई सम्मानपूर्वक केन्द्रीय समितिमा समेटेर अघि बढ्न आफू तयार रहेको बताएका छन्।
उनले विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा कुनै पनि प्रकारको विभेद नहुने स्पष्ट पारे।
शनिबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले १४औँ महाधिवेशनबाट निर्वाचित ठूलो संख्या अझै पार्टीको मूल संरचनाबाहिर रहेको उल्लेख गर्दै सबैलाई जिम्मेवारीसहित समेट्ने आफ्नो प्रस्ताव रहेको बताए।
उनले भने, “१४औँ महाधिवेशनबाट निर्वाचित प्रत्येकलाई केन्द्रीय समितिमा ल्याएर मानका साथ सँगै काम गर्न चाहन्छु।
वरिष्ठ नेता बनाउनुपर्नेहरूलाई वरिष्ठ नेता र अन्यलाई उपयुक्त जिम्मेवारी दिन म तयार छु।”
थापाले विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा अवसर वितरण नगर्ने पनि स्पष्ट पारे।
उनका अनुसार पार्टीभित्र निर्णय गर्दा कसैले कुन पक्ष लिएको थियो भन्ने आधारमा होइन, क्षमता र आवश्यकताको आधारमा जिम्मेवारी दिइनेछ।
त्यस्तै, उनले महाधिवेशनका लागि गठन गरिने विभिन्न समितिहरूमा पनि निष्पक्षता कायम गरिने उल्लेख गरे।
समितिमा बस्न इच्छुक नेताहरूलाई जुनसुकै माध्यमबाट आफ्नो नाम पठाउन आग्रह गर्दै उनले समावेशी र सहमतिमूलक ढंगले पार्टी सञ्चालन गर्न चाहेको बताए।
प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया