काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको एकता र सहकार्य कायम गर्न विधानको सीमाभित्र रहेर आवश्यक जुनसुकै कदम चाल्न आफू तयार रहेको बताएका छन्।
उनले आगामी १५औँ महाधिवेशनलाई स्वच्छ, निष्पक्ष र सबैलाई स्वीकार्य बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले १४औँ महाधिवेशनबाट निर्वाचित भएर पनि हाल पार्टी संरचनाबाहिर रहेका नेताहरूलाई सम्मानपूर्वक केन्द्रीय समितिमा समेट्न चाहेको बताए।
उनले भने, “१४औँ महाधिवेशनबाट निर्वाचित भएर बाहिर रहनुभएका साथीहरूलाई पनि केन्द्रीय समितिमा ल्याएर सम्मानसाथ राख्न चाहन्छु।
महाधिवेशनसँग सम्बन्धित समितिहरू निष्पक्ष बनाउन आवश्यक परे जहाँ जसलाई राख्नुपर्छ, त्यसका लागि म तयार छु।”
थापाले यो सबै काम पार्टी विधानको परिधिभित्र रहेर गरिने स्पष्ट पार्दै यसलाई आफ्नो सार्वजनिक प्रतिबद्धता भएको बताए।
उनले पार्टीका निर्णयहरू गर्दा विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा कसैमाथि विभेद नगरिने पनि उल्लेख गरे।
उनका अनुसार निर्णयको आधार व्यक्तिको योगदान र भूमिका हुनेछ, न कि गुट वा उपस्थितिको हिसाब।
“पार्टीमा योगदान कस्तो छ भन्ने कुरा मुख्य हुन्छ। सबै सदस्यलाई समान दृष्टिले हेर्नुपर्छ,” थापाले भने।
त्यस्तै, उनले पार्टीभित्र सहमति र मेलमिलाप कायम गर्न आफूले अग्रज नेताहरूलाई व्यक्तिगत रूपमा भेटेर संवाद गरिरहेको पनि बताए।
पार्टीलाई एकताबद्ध बनाउन आवश्यक परे जुनसुकै तहसम्म लचकता अपनाउन तयार रहेको उनको भनाइ थियो।
प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया